न्युयोर्क, १५ कात्तिक । अमेरिकी राष्ट्रपति बाराक ओबामाले समुद्री आँधीले अत्याधिक प्रभावित भएको न्युयोर्कलाई ‘भीषण प्राकृतिक प्रकोप’ मंगलबार घोषणा गरेका छन् । मुसलधारे वर्षा, तेज हावा र ठूलाठूला छालहरूसहित आएको चक्रवाती समुद्री आँधी ‘स्यान्डी’ अमेरिकाका पूर्वी तटीय राज्यहरू हुँदै न्युयोर्क पुगिसकेपछि त्यसको भयानक प्रकोप देखिन थालेको हो । व्यापक विनाशको सम्भावना बोकेको हुँदा ‘सुपरस्टोर्म’ भनिएको यस सामुद्रिक आँधीबाट अहिलेसम्म १७ व्यक्तिको मृत्यु भइसकेको छ । यही आँधीले क्यारिबियन क्षेत्रमा एक सय मानिसको ज्यान लिइसकेको छ ।
आँधीले लाखौँ अमेरिकीको जीवनमा प्रत्यक्ष प्रभाव पार्न थालिसकेको छ । आँधीका कारण आसन्न अमेरिकी राष्ट्रपति निर्वाचन अभियान पनि प्रभावित भएको छ । १४ हजार विमानका उडान स्थगित गरिएका छन् । न्युयोर्क, न्यु जर्सी, पेनसिलभानिया, मेरिल्यान्ड, कनेक्टिकट, वेस्ट भर्जिनिया र नर्थ क्यारोलाइना राज्यहरूमा गरी स्यान्डी आँधीबाट १६ जनाको मृत्यु भएको हो । नर्थ क्यारोलाइना र न्यु इंग्ल्यान्ड राज्यहरूमा स्यान्डीबाट प्रभावित हजारौँ व्यक्तिलाई विस्थापित गरिसकिएको छ । न्युयोर्कको समुद्रमा चार मिटर अग्ला छालहरू देखिएका छन् भने मुसलधारे वर्षाको पानीले अनेक सडक र सब–वेहरू डुबाएको छ । एक अनुमानअनुसार लगभग पाँच करोड अमेरिकी मानिस यस आँधीबाट प्रभावित भएका छन् । कम्तीमा ११ राज्यमा ३० लाखभन्दा बढी अमेरिकीका घरमा बिजुली छैन भने १० लाख मानिसलाई अन्यत्र सुरक्षित स्थानमा लगिएको छ ।
अनेक पूर्वी सहरमा यातायात बन्द भएको छ । स्थिति नराम्रो रहेको देखेर राष्ट्रपति बाराक ओबामा र उनका रिपब्लिकन प्रतिद्वन्द्वी मिट रोमनीले आ–आफ्ना चुनावी अभियान स्थगित गरेका छन् । न्यु जर्सीको एटलान्टिक सिटीमा आँधीले नराम्ररी प्रभाव पारेको छ । धेरै क्षेत्र डुबानमा परेपछि त्यहाँबाट ३० हजारभन्दा बढी मानिसलाई अन्यत्र सारिएको छ । न्युयोर्कको लोअर म्यानहटन क्षेत्रमा लगभग पौने चार लाख मानिसलाई घर छोड्न भनिएको छ । त्यो क्षेत्रमा समुद्रको पानी भरिएको छ ।
न्युजर्सीमा स्थापित अमेरिकाकै सबैभन्दा पुरानो परमाणु बिजुली घर आयस्टर क्रिकलाई पनि लगातार वर्षाका कारण सचेत राख्न निर्देशन दिइएको छ । न्युयोर्क स्टक एक्सचेन्ज मंगलबार पनि बन्द रहयो ।
म्यानहटन क्षेत्रमा दुई लाख ५० हजार मानिस बिजुलीबाट वञ्चित छन् । न्युयोर्कका मेयर माइकल ब्लुमबर्गले आँधीको गति अनुमान गरिएभन्दा बढी भएको बताए तर उनले आँधीको गति मंगलबार रातिबाट कम हुँदै जाने आशा पनि व्यक्त गरे ।
त्यसअघि न्युजर्सी तटमा स्थानीय समयअनुसार सोमबार राति आठ बजेतिर १२९ किलोमिटर प्रतिघन्टाको गतिले स्यान्डीले आफ्नो आगमन जनाएको थियो । के अनुमान गरिँदै छ भने यो आँधीबाट कम्तीमा ६ करोड अमेरिकीहरू प्रभावित हुनेछन् । एजेन्सी
प्रतिक्रिया