दार्चुला । व्याँस गाउँपालिकाको छाङ्गरु तिङ्कर जोड्ने गरी निर्माण सुरु गरिएको गोरेटो बाटोको कामले गति लिएको छैन । व्याँसीवासीलाई आफ्नै भूमि भएर आवतजावत गर्न गोरेटो निर्माणको लागि ठेक्का भए पनि अहिलेसम्म कामले भने गति लिएको छैन । नेपालतिर बाटो नहुँदा व्याँस गाउँपालिका–१ छाङ्गरु, तिङ्कर, व्याँस–२ को दुम्लिङ, कल्जु, माललगायतका गाउँका स्थानीय आफ्नै भूमि भएर आवतजावत गर्न समस्यामा परेका छन् । दुई वर्षदेखि यहाँका नागरिकले भारतीय भूमि भएर आवतजावत गर्नुपरेको छ । व्याँस–२ दुम्लिङदेखि छाङ्गरुसम्मको ३० किलोमिटर गोरेटो निर्माणका लागि सम्झौता भएको आठ महिनासम्म पनि निर्माणको कामले गति लिन सकेको छैन । संघीय सरकारको पाँच करोडमा बोलपत्र आह्वान गरेकामा कुल ३ करोड ३२ लाख लागतमा पुष्पाञ्जलि रिठगडे निर्माण सेवा दार्चुलासँग गत वैशाखमा ठेक्का सम्झौता भएको छ ।
०७७ फागुनमा बोलपत्र भई ०७८ वैशाखमा निर्माण कम्पनीसँग घोडेटो निर्माणका लागि दुई वर्षको सम्झौता भएको छ तर ठेकेदारले समयमै काम नगर्दा यो पटक व्याँसीले कुञ्चा सर्दा भारतीय बाटोको प्रयोग गर्नुपरेको व्याँसका स्थानीयवासी विमल बोहराले जानकारी दिए । आफ्नै भूमि भएर बाटो नहुँदा व्याँसको छाङ्गरु तिङ्कर पुग्ने नागरिकले सास्ती भोग्नुपरेको छ । व्याँसी सौका समुदाय ६ महिना खलंगा तथा ६ महिना छाङ्गरु र तिङ्करमा बसाइँ सर्ने गर्दछन् । हिउँदेयाम सुरु हुने बित्तिकै सौका समुदायका मानिस लालाबालासहित खलंगा झर्ने गर्दछन् । नेपालबाट बाटो नभएकै कारण उनीहरू भारतको बाटो प्रयोग गर्दै आइरहेका छन् । भारतको बाटो प्रयोग गर्दै खलंगासम्म आउन उनीहरूलाई भारतीय सुरक्षाकर्मीले विभिन्न बाहानामा ठाउँठाउँमा दुःख दिने गरेको बताइएको छ ।
उनले भने, ‘आफ्नै देशको भूमि जान भारतीय अनुमति लिनुपर्छ । उनीहरूले अनुमति नदिए गाउँ आउजाउ गर्न सकिने अवस्था छैन । योभन्दा हाम्रो लागि अरू विडम्बना के हुन सक्छ ।’ छिटो बाटो निर्माणका लागि पत्रकार शंकरसिंह धामीले सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री दीर्घ सोडारीको ध्यानाकर्षण गराएका छन् । प्रदेश गौरवका योजनाको अनुगमनका लागि दार्चुला पुगेका मन्त्री सोडारीलाई सरकारले व्याँसलाई विशेष क्षेत्रमा राखे पनि नागरिक हिँड्नसमेत बाटो बनाउन नसकेको जनाउँदै पत्रकार धामीले ध्यानाकर्षण गराए । उनले भने, ‘नेपाली सेनाले साढे चार सय मिटर गोरेटो बाटो बनाइदिएको थियो ।’ अहिले त्यही बाटो अवरुद्ध हुँदा पनि मर्मतको काम अघि बढ्न सकेको छैन । यसमा तीन तहको सरकारको ध्यान जानुपर्छ ।
निर्माण व्यवसायी मानबहादुर बमका अनुसार जिरो पोइन्टदेखि दुई÷तीन किलोमिटर घोडेटो बाटो निर्माण गरे पनि गत भदौमा आएको बाढी र पहिरोले सबै बगाएर लगेको दाबी गरे । अहिले बयली, दोपाखे र पोला भन्ने ठाउँमा घोडेटो बाटो निर्माणको काम थालिएको उनले बताए । वर्षा तथा कोरोना संक्रमणका कारण भएको लकडाउनले काममा ढिलाइ भएको उनको भनाइ छ ।
३० किलोमिटर घोडेटो बाटोको कल्जु, बुदी, सगनाडी र अपी भन्ने ठाउँका खोलामा पुल निर्माण गर्नुपर्ने जनाइएको छ । घोडेटोबाट तीव्रगतिमा निर्माण गर्न विष्फोटक पदार्थको अभाव रहेको निर्माण व्यवसायी बमले बताए । ‘आवश्यक विष्फोटक पदार्थ उपलब्ध गराइदिन भन्दै जिल्ला प्रशासनमा निवेदन दिएको छु’, उनले भने ।
घोडेटो निर्माण गर्नुपर्ने ठाउँमा कडा चट्टानी भू–भाग रहेको भन्दै चट्टान तोड्न विष्स्फोटक पदार्थ आवश्यक रहेको निर्माण व्यवसायी बमले गुनासो गरे । यस्तै भारतले सडक निर्माणका क्रममा कल्जुभन्दा माथिल्लो क्षेत्रमा विष्फोट गराएको ढुंगा नेपालपट्टि आएर बढी क्षति भएको जनाइएको छ । (रासस)
प्रतिक्रिया