पर्वत । पर्वतको फलेवास नगरपालिकाले स्थानीय तह भित्रका सबै घरलाई तरकारीमा आत्म निर्भर साथै कृषि क्रान्तिका लागि तरकारीका बिउ वितरण गर्न सुरु गरेको छ । नगरपालिका बासिहरुलाई कृषि पेशामा उत्साहित बनुन भन्ने उद्देश्यका साथ नगरपालिकाले एक कार्यक्रमका बिच बिउ बितरण सुरु गरेको हो । कृषकहरूलाई तरकारीमा आत्मनिर्भरता बढाउन र व्यवसायिक तरकारी खेतीमा प्रोत्साहन गर्नका लागि ‘क्लिन फलेवास ग्रिन फलेवास’ कार्यक्रमअन्तर्गत विभिन्न ६ प्रकारका बिउहरू स्थानीय तहभित्रका करिब ६ हजार परिवारको लागि उपलब्ध गराउन लागिएको ‘क्लिन फलेवास : ग्रिन फलेवास’ कार्यक्रमका संयोजक कमल घिमिरेले बताए ।
झन्डै चार लाख रुपैयाँको लागतमा रायो, मुला, सलगम, धनियाँ, पालुङ्गो र गाजरको बिउहरू वितरण गर्ने काम भइरहेको घिमिरेको भनाइ छ । चार लाखको लागतमा बिउ बाँड्दा प्रतिपरिवार ७० रुपैयाँको बिउ मिल्ने भए पनि त्यसले कृषकहरूलाई व्यावसायिक बन्न प्रोत्साहन गर्ने तथा तरकारीमा आत्मनिर्भरता बढाउनको लागि यो एउटा सन्देश हुने भएकाले यो कार्यक्रम सञ्चालन गरिएको घिमिरेको भनाइ छ ।
‘बिउ वितरण कार्यक्रम क्लिन फलेवास ग्रिन फलेवास अभियानको क्लिन हाउस ग्रिन हाउस अन्तर्गत घर बगैँचा कार्यक्रम अन्तर्गत रहेको छ । प्रति घरधुरीका लागि सत्तरी रुपैयाँ बराबरको छ प्रकारको तरकारीको बिउ दिइरहेका छौँ,’ उनले भने, ‘अघिल्ला वर्षहरूमा पनि यो अभियान सञ्चालन गरिएकोमा अहिले पनि निरन्तरता दिइएको हो ।’
गत आर्थिक वर्ष ०७६–०७७ मा हरित फलेवासका लागि अभियान अन्तर्गत ११ वटा वडाहरू रहेको फलेवासका चार सय कृषकहरूलाई प्लास्टिक टनेल वितरण गरिएको थियो । अघिल्ला वर्षका टनेलहरू कृषकले तयारी अवस्थामा राखेका कारण पनि अहिले वितरण गरिएका बिउलाई त्यहीँ हुर्काउन र व्यावसायिक तरकारी खेतीमा लाग्न कृषकहरूलाई सहज हुने नगरप्रमुख पदमपाणी शर्मा बताउँछन् ।
‘नगरपालिकाले एकैपटकमा मोटो रकम दिएर कृषकहरूलाई व्यावसायिक कृषिमा आकर्षण गर्न त कठिन हुन्छ । विगतका वर्षमा कहिले बिउ, कहिले फलफूलका बिरुवा, कहिले टनेल दिएको शर्माको भनाई छ । नगरपालिकाले दिएको बिउ व्यावसायिक कृषिको लागि पूर्ण नहुने भए पनि आफूहरूको लागि भने प्रेरणाको स्रोत भएको फलेवास नगरपालिका–१ थापाठानाकी कृषक सोफिया श्रेष्ठले बताइन । व्यवसायिक तरकारी खेतीको लागि कृषक स्वयं नै सक्रिय भएमा मात्र सम्भव हुने अधिकांश कृषकको भनाई छ ।
प्रतिक्रिया