विश्व मधुमेह दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

पर्वत । विश्व मधुमेह दिवसको अवसर पारेर आइतबार जिल्ला स्वास्थ्य कार्यालय पर्वतमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । पर्वतमा रहेका सरकारी कार्यालयहरू, विभिन्न संघसस्थाका प्रमुख र पत्रकारहरूको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा पर्वतका प्रमुख जिल्ला अधिकारी देवि खत्री पाण्डेले मधुमेह अहिले जुनसुकै मानिसमा पनि देखिन सक्ने बताए । पाण्डेले भने, ‘पछिल्लो समयमा भएको बढ्दो सहरीकरण र आधुनिक प्रविधिको विकासले मानिसलाई अल्छी बनाएको छ ।’ मानिसहरू पहिलाको जस्तो खानपान गर्दैैनन् । शारीरिक ब्यायाम पनि कम गर्छन्, यस्ता विभिन्न कारणहरूले गर्दा मानिस विभिन्न किसिमका रोगहरू देखिन थालेको प्रजिय पाण्डेको भनाइ छ ।

सो अन्तरक्रिया कार्यक्रममा जिल्ला समन्वय समिति पर्वतका प्रमुख मनोहर बि.पौडेलले जीवनलाई सुखमय बनाउन खोज्दा मानिसहरू विभिन्न रोगको सिकार हुन परेको बताए । पौडेललका अनुसार शरीरलाई हित गर्ने, स्वास्थ खानेकुरा नभएर स्वादको लागि तेलमा तारेका परिकारको धेरै सेवन गरेका कारण मधुमेह जस्ता रोगबाट मानिसहरू ग्रसित हुन पुगेको भनाइ छ ।

विश्वभर मधुमेहका बारेमा सचेतना फैलाउने र सबै मधुमेहका बिरामीहरूलाई उपचार हेरचाह सेवाको पहुँचमा ल्याउने प्रमुख उद्देश्यका साथ यो दिवस सन् २००६ बाट नै मनाउन सुरु गरिएको हो । यस वर्ष विश्व मधुमेह दिवशको नारा, ‘मधुमेहको हेरचाह र उपचारमा पहुँच अब पनि नभए कहिले’ भन्ने रहेको छ । हाल विश्वमा करिव ४२ करोड मानिसहरू मधुमेहसँगै बाँचिरहेका छन् । मधुमेह हुनुको मुख्यकारण शरीरको मोटोपना, शारीरिक परिश्रमको कमी साथै वंशाणुगत कारण रहेको जिल्ला अस्पताल पर्वतका सर्जन डाक्टर डिबी क्षेत्रीले बताए । क्षेत्रीले सो कार्यक्रमा मधुमेह लागेमा के गर्ने के नगर्ने र यसबाट बच्न कस्ता कस्ता उपायहरू अपनाउने भन्ने विषयमा बोलेका थिए । अन्तरक्रियापछि निःशुल्क मधुमेह तथा रक्तचाप जाँच शिविर पनि सञ्चालन भएको थियो ।

प्रतिक्रिया