काठमाडौं । कोरोना कहरका कारण थलिएको नेपाली चलचित्र क्षेत्र विस्तारै गति लिन थालेको छ । यसबीचमा नयाँ चलचित्र निर्माण तथा छायांकनमा निर्माता जुटिरहेका छन् । केही चलचित्र हलमा प्रदर्शनमा आएका छन् । यसैबीच अभिनेता राजेश हमाल चलचित्र ‘सत्यम’ को कार्यशालामा जुटेका छन् । कास्कीको धम्पुसबाट सुरु भएको कार्यशालामा अभिनेता हमालसहित पल शाह, मलिका महत लगायतका कलाकार सहभागी भएका छन् । शंकर कार्कीले निर्देशन गर्ने यस चलचित्रको कार्यशाला सुरु भएसँगै अभिनेता पलले यसबारेमा सामाजिक सञ्जालमा तस्बिर राखेका छन् । पोखरा वरिपरीको क्षेत्रमा छायांकन गर्न लागिएको यस चलचित्रका लागि पोखरामै सेट निर्माण गरिएको निर्माण पक्षले जनाएको छ । सो सेटमा चलचित्रको मुख्य भनिएको हेलिकप्टर दुर्घटनाको दृश्यसँगै अन्य दृश्य छायांकन गरिने जनाइएको छ ।
चलचित्र ‘सत्यम’ मा अभिनेता हमाल, महत र शाहसँगै अनुपविक्रम शाही, अभय बराल लगायतको कलाकारको भूमिका रहेको छ । चलचित्रमा रेशम सापकोटाको लेखन तथा निर्माण रहनेछ । तिहारपछि छायांकनमा जाने तयारीका साथ धम्पुसमा कार्यशाला गरिएको हो । चलचित्रको शीर्ष भूमिकामा अभिनेता हमाल र खलपात्रको भूमिकामा अभिनेता अनुपविक्रम शाही देखिने निर्माण पक्षले जनाएको छ ।
चलचित्रमा अभिनेता पलको अपोजिटमा अभिनेत्री मलिका महत रहेछन् । यस्तै, चलचित्रका लागि अर्की एक अभिनेत्रीको समेत खोजी निर्माण पक्षले गरिरहेको छ । चलचित्रमा हमालको अपोजिटको रुपमा अभिनेत्री निरुता सिंहलाई अफर गरिएको छ । चलचित्रमा अभिनेत्री निरुतालाई अफर गरिए पनि उनले काम गर्ने वा नगर्ने निधो भइसकेको छैन । अभिनेत्री निरुता एक डान्स रियालिटी सोको निर्णायक बन्नका लागि एक साता अगाडि नेपाल आएकी थिइन् । यो डान्स रियालिटी सोका लागि निरुताले करिब ३ महिनाको समय दिनुपर्नेछ । उनले चलचित्रमा काम गर्ने वा नगर्ने विषयमा फाइनल गर्न सकेकी छैनन् । निरुताले नेपाल आएपछि कथावस्तु राम्रो भएको खण्डमा आमाको भूमिकामा पनि काम गर्ने बताएकी थिइन् ।
प्रतिक्रिया