स्वाइनफ्लु रोगभन्दा डर बढी

यतिवेला देशभर स्वाइन फ्लुको त्रास फैलिएको छ । तर, चिकित्सकहरू यो सामान्य रुघाखोकी भएकाले आत्तिनु नपर्ने बताइरहेका छन् । स्वाइनफ्लुका बारेमा आम नागरिकलाई जानकारी दिन नसक्दा यो कुनै ठूलै रोग होकि भन्ने भ्रम रहेको चिकित्सकहरू बताउँछन् ।
स्वास्थ्यसेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. जिडि ठाकुरका अनुसार सामान्य रुघाखोकी, घाँटी दुख्दा र उच्च ज्वरो आउँदैमा स्वाइनफ्लु हुने होइन । स्वाइनफ्लु पनि अन्य मौसमी रुघाखोकी जस्तै सामान्य समस्या भएकाले आत्तिहाल्नु पर्ने अवस्था होइन । ‘स्वाइन फ्लु रोग भन्दा पनि बढी डर भएको छ’ उनले भने, ‘यो अन्य साधारण रुघाखोकी भन्दा फरक छैन ।’ उनले झोल खानेकुरा खाएर एक हप्ता आराम गर्ने हो भने यो आफैँ निको भएर जाने बताए ।
विश्व स्वास्थ्य संगठनले दुई वर्ष अगाडि नै यसलाई सामान्य मौसमी रुघाखोकी प्रमाणित गरेपछि यसको नामै परिवर्तन भएर एचवान एनवान भाइरसको संक्रमणबाट सर्ने सरुवा रोग राखिएको छ । ‘साधारण रुघाखोकी भएकाले यसलाई डरलाग्दो रोगका रूपमा लिनुपर्ने अवस्था छैन’ संगठनको सन् २०१० को प्रतिवेदनमा उल्लेख छ, ‘भाइरल इन्फ्लुएन्जा एचवान एनवान महामारी फैलाउने भाइरसका रूपमा चिनिन्छ । जुनसुकै ठाउँमा सर्ने भए पनि यसको प्रभाव निकै कम हुने गरेको छ ।’ संगठनले यसलाई सामान्य मौसमी रुघाखोकीका रूपमा प्रमाणित गरिसकेकाले चिकित्सकले पनि साधारण रुघाखोकीमा जस्तै यसमा पनि आराम गर्न र अरूलाई सार्न नदिन मास्क लगाउन, भिडभाडमा नजान र घरमै आराम गर्न सुझाव दिएका छन् ।
डा. ठाकुरले स्वाइनफ्लुबारे अझै पनि धेरै स्वास्थ्यकर्मीमा अन्योल र सर्वसाधारणमा त्रास रहेको भन्दै सचेतना जरुरी रहेको बताए । उनले गम्भीर प्रकृतिका लक्षण देखिए वा केही दीर्घरोग छ भने मात्र अस्पताल जानुपर्ने अन्यथा आरामकै भरमा निको पार्न सकिने उल्लेख गरे । ‘भ्रमका कारण सामान्य रुघाखोकीलाई पनि स्वाइनफ्लु हो कि भन्ने आशंका गरेर अहिले अस्पताल धाउने बिरामीको संख्या बढेको छ’ उनले भने, ‘स्वाइनफ्लुजस्तै सिजनल फ्लुमा पनि ज्वरो आउने, जिउ दुख्ने, खोकी लाग्ने, घाँटी दुख्ने, झाडापखाला हुने, नाकबाट पानी बग्ने लक्षण हुने भएकाले सबै अवस्थामा अस्पताल जानुपर्दैन ।’ उनले इन्फ्लुयन्जाका समस्यामा स्वासप्रश्वासमा अप्ठ्यारो हुने, मुखबाट रगत आउनेजस्ता लक्षण देखिएमा मात्रै तुरुन्त अस्पताल जानुपर्ने सुझाए ।
नेपालमा पनि पछिल्लो तीन वर्षदेखि यसलाई मौसमी रुघाखोकीका रूपमा लिने गरिएको सरुवारोग विशेषज्ञ डा. वासुदेव पाण्डेले बताए । उनका अनुसार प्रत्येक वर्ष मौसममा देखिने परिवर्तनका क्रममा यस रोगको संक्रमण बढ्ने गरेको छ । ‘हाल मानिसमा देखिएको इन्फ्लुएन्जा साधारण रुघाखोकी मात्र हो’ उनले भने, ‘यो कुनै असामान्य रोग होइन, विभिन्न कारणले ज्वरो आएजस्तै रुघाखोकी लाग्छ । दुई–तीन दिन आराम गरेपछि आफैँ हराएर जान्छ ।’ उनका अनुसार यसमा समान्य रुघा लाग्दाजस्तै पातलो सिँगान बग्ने, हाच्छ्उिँ आउने, खोकी लाग्ने, मासंपेसी तथा जोर्नी दुख्ने, घाँटी दुख्ने, ज्वरो आउने, कहिलेकाहिँ बान्ता आउने, पखाला लाग्ने, सास फेर्न गाह्रो हुन्छ । उनका अनुसार यी लक्षण देखिएका व्यक्तिले हाच्छिउँ गर्दा वा खोक्दा रुमालले नाकमुख छोप्नुपर्छ । मनतातो पानी वा झोलिलो वस्तु खाइरहनुपर्छ । साबुनपानीले राम्ररी हात धोएर सफासुग्घर रहनुपर्छ ।
सामान्य रुघाखोकीभन्दा केही फरक लक्षण हुने भए पनि कतिपय बिरामीमा स्वाइनका सबै लक्षण नदेखिने चिकित्सक बताउँछन् । बालबच्चा र बृद्धा तथा रोगप्रतिरोधक क्षमता कम भएकालाई स्याहार गर्ने व्यक्तिले व्यक्तिगत सुरक्षा अपनाउनुपर्ने उनीहरूको सल्लाह छ । ‘घाँटी पनि दुख्ने, रुघाखोकी भन्दा बढी ज्वरो भएमा पनि परिक्षण र औषधीभन्दा अलग्गै राख्ने तर व्यक्तिगत सरसफाइ र अन्य संक्रमणबाट बच्नुपर्छ’ डा. पाण्डेले भने, ‘उच्च ज्वरो नघटे, पखाला लागी जलवियोजन भए वा अन्य रोग रहे मात्र स्वास्थ्यसंस्थामा उपचार गराउनुपर्छ । ’
चिकित्सकहरूका अनुसरा पान्डमिक इन्फ्लुएन्जा एचवान एनवान रोगले ९९ प्रतिशत मानिसमा मन्द प्रकृतिको रुघाखोकी र १ प्रतिशतमा मात्रै गम्भीर असर गर्छ । रोगीको सम्पर्कमा आएका प्रत्येक तीन जनामा एक बिरामी हुन्छन् । १० मा एक जनामा इन्फेक्सन हुन्छ । प्रति १० हजारमा चारदेखि १० जनाको मृत्यु हुन्छ । ‘सिभियर लक्षण नदेखिएसम्म घरैमा बसेर आराम गरे हुन्छ’ डा. ठाकुरले भने, ‘उपचारमा संलग्न चिकित्सकले पनि आवश्यकता हेरेर मास्क, पन्जा लगाएर व्यक्तिगत सुरक्षाका सामान्य उपाय अपनाए डराउनु पर्दैन ।’

प्रतिक्रिया