कर्णाली । स्थानीय जनगणना कार्यालयले राउटेको गणना अन्तिम समयमा गर्ने तयारी थालेको छ । जंगलमा फिरन्ते जीवन बिताउने यस समुदायको गणना छुट्न वा दोहोरिन नदिन अभियानको अन्तिम समयमा गर्ने तयारी भएको हो । राउटेहरू हाल सल्यानको पश्चिमी क्षेत्र वनगाड कुपिन्डे नगरपालिका–१ को घाटगाउँमा बस्दछन् । सुर्खेत प्रदेश जनगणना कार्यालयले राउटेहरू छिटो–छिटो बसाइँ सर्ने हुँदा छुट्ने वा दोहोरिन सक्ने भएकाले जनगणनाको अन्तिम समयमा गर्ने गरी स्थानीय जनगणना कार्यालयहरूसँग समन्वय भइरहेको जनाएको छ । अति लापोन्मुख यो समुदायमा हाल १ सय ४० जना छन् । जनगणनाका लागि सुर्खेतस्थित प्रदेश जनगणना कार्यालयले दैलेखको गुराँस गाउँपालिका र सल्यान जिल्ला जनगणना कार्यालयसँग समन्वय गरिरहेको छ ।
१२औँँ राष्ट्रिय जनगणनाअन्तर्गत यही ३० भदौदेखि घरधुरी तथा घरपरिवार सूचीकरण कार्य जारी छ । यो कार्य १८ असोजसम्म हुनेछ । घरधुरी, घरपरिवार तथा कृषिसम्बन्धी विवरण सूचीकरण गर्ने चार दिन मात्र बाँकी रहँदा सुपरीवेक्षकहरू राउटे बस्ती पुगेका छैनन् । वनगाड कुपिन्डे नगरपालिका–१ की सुपरीवेक्षक राजकुमारी खत्रीले राउटे समुदायको घरपरिवार तथा घरधुरी सूचीकरण कार्य अन्तिममा गर्ने तयारी भइरहेको बताइन् । ‘राउटे समुदायसहित पाँच वटा क्लस्टर बनाएर घरधुरी तथा घरपरिवार सूचीकरण गरिरहेको छु’, उनले भनिन्, ‘अन्य बस्तीको सूचीकरण अब अन्तिम चरणमा पुगेको छ, त्यसलगत्तै राउटे बस्तीमा पुग्नेछु ।’
सुपरीवेक्षक खत्रीले राउटे समुदायको घरपरिवार तथा घरधुरी सूचीकरणका लागि सो समुदायसँग नजिकका व्यक्तिबाट सहयोग लिन पर्ने भएकाले त्यसका लागि दैलेखको गुराँस गाउँपालिकाले दुई सहजकर्ता परिचालन गरेको छ । राउटेहरू आफूले विश्वास गरेको एवं परिचित व्यक्तिसँग मात्र आपसमा कुराकानी गर्ने गर्दछन् । यो समुदाय अझै आफ्नो वास्तविक विवरण बताउन तयार छैनन् ।
राउटेहरू ‘आफ्नो संख्या गन्नु हुँदैन, टाउको गन्नुहुन्न, पाप लाग्छ’ भन्ने मान्यतामा विश्वास गर्छन् । यही मान्यताका कारण यसअघिका जनगणनामा राउटेको यकिन विवरण आउन नसकेको हो । ०५८ र ०६८ को जनगणनामा राउटेको संख्या यथार्थभन्दा बढी देखाइएको राउटे अभियानकर्मीको आरोप छ । यी गणनामा राउटेको संख्या पाँच सयभन्दा बढी भएको उल्लेख थियो ।
जिल्ला तथ्यांक कार्यालयका सहायक जनगणना अधिकारी कुमारी सीता तिमिल्सेनाले यसपटकको गणनामा राउटे समुदायको वास्तविक विवरण संकलन हुने बताइन् । ‘फिरन्ते राउटे, पुख्र्यौली थातथलोदेखि अलग बस्दै आएका बादी, गन्धर्वलगायत जातिको पनि यकिन विवरण संकलन गरिँदै छ’, उनले भनिन्, ‘कसैको छुट्ने र कसैको दोहोरिने समस्या हुन नदिन सचेत छौँ ।’ ‘मेरो गणना–मेरो सहभागिता’ भन्ने नाराका साथ यही २५ कात्तिकदेखि ९ मंसिरसम्म मुख्य जनगणना कार्य सम्पन्न हुनेछ ।
प्रतिक्रिया