स्वास्थ्यचौकी स्थापनासँगै स्वास्थ्यसेवा सहज

सिन्धुली । जिल्लाकोे कमलामाई नगरपालिकाले नगरका सबै वडामा स्वास्थ्यचौकी स्थापना गरेको छ । स्वास्थ्य सेवामा सबैको सहज पहुँच पु¥याउनका लागि नगरपालिकाले सबै वडामा स्वास्थ्यचौकी स्थापना गरेको कमलामाई नगरपालिकाका मेयर खड्गबहादुर खत्रीले बताए । ‘ग्रामीण क्षेत्रका नागरिक स्वास्थ्य सेवाको सहज पहुँचमा पुग्न सकेका छैनन्’, मेयर खत्रीले भने, ‘त्यसैले हामीले प्रत्येक वडामा स्वास्थ्य संस्था स्थापना गरेको छौँ ।, बर्थिङ सेन्टर पनि हामीले विकट वडामा सञ्चालन गरेका छौँ ।’ प्रत्येक वडामा स्वास्थ्यचौकी स्थापना भएसँगै नागरिकले सहज रूपमा स्वास्थ्य सेवा लिइरहेको उनको भनाइ छ । कमलामाई नगरपालिका–६ भने सदरमुकाममै रहेकाले उक्त वडामा भने स्वास्थ्यचौकी स्थापना नगरेको उनले बताए ।

आधारभूत स्वास्थ्य सेवा लिन घण्टाँै हिँडेर सदरमुकामसम्म आउनुपर्ने नागरिकले अहिले सहजरुपले आफ्नै ठाउँमा स्वास्थ्य सेवा लिएका छन् । स्वास्थ्यचौकी स्थापना भएपछि सामान्य उपचारका लागि पनि सदरमुकाम पुग्नुपर्ने समस्या समाधान भएको कमलामाई नगरपालिका–१२ की सीता गौतम सापकोटाले बताइन् । ‘पहिले त बच्चालाई लगाउने नियमित खोप लगाउन पनि सिन्धुलीमाढी बजार नै पुग्नुपथ्र्यो । बजार पुग्न तीनदेखि चार घण्टासम्म लाग्थ्यो’, उनले भनिन्, ‘अहिले त सजिलो भएको छ । नजिकै स्वास्थ्यचौकी छ । केही सामान्य बिरामी भयो भने पनि बजार पुगिरहनुपर्दैन ।’ गाउँमै सहज रूपमा सेवा लिन पाएपछि कमलामाई नगरपालिका–४ खटारकी शान्तिमाया वाइबाा पनि खुसि लागेको बताउँछिन् ।

कमलामाई नगरपालिका–४ मा चौरमा सञ्चालन हुने स्वास्थ्यचौकीको अहिले नगरपालिकाले सुविधा सम्पन्न भवन निर्माण गरेको वडाध्यक्ष महेन्द्र ढकालले बताए । ‘हामीले कमलामाई नगरपालिका–४ खटारमा सञ्चालन भएको स्वास्थ्यचौकीलाई पनि व्यवस्थित गरेका छौँ । पहिले एक स्कुलको चौरमा सञ्चालन हुने स्वास्थ्यचौकीको अहिले सुविधा सम्पन्न भवन निर्माण गरेका छौँ ।’ वडा अध्यक्ष ढकालले भने, ‘स्वास्थ्यचौकीको भवन निर्माण भएपछि नागरिकले सहज तरिकाले सेवा लिएका छन् ।’

यस्तै ४ नम्बर वडावासीलाई स्वास्थ्य सेवा लिन थप सहज बनाउनका लागि अर्को स्वास्थ्यचौकीसमेत स्थापना गरेको उनले बताए । कमलामाई नगरपालिका–४ कुडुलेमा सुविधा सम्पन्न सहरी स्वास्थ्य भवन निर्माण सम्पन्न भइसकेको अध्यक्ष ढकालले बताए । वडाका कुनै पनि नागरिक स्वास्थ्यबाट वञ्चित हुन नपरोस् भनी वडामा दुई वटा स्वास्थ्यचौकी स्थापना गरिएको उनको भनाइ छ । योसँगै आधारभूत स्वास्थ्य सेवा कुडुलेबाटै वितरण हुने भएको छ । कुडुलेमा स्वास्थ्यचौकी स्थापना भएपछि त्यहाँका नागरिकलाई सहज पनि हुने भएको छ ।

यस्तै नगरपालिकाले चालु आर्थिक वर्षमा पनि शिक्षा र स्वास्थ्य क्षेत्रको भौतिक पूर्वाधारलाई पनि विशेष महत्वका साथ बजेट विनियोजन गरेको मेयर खत्रीले बताए । हाल नगरपालिकाले स्वास्थ्य र शिक्षालाई बढी महत्व दिएको उनको भनाइ छ ।

प्रतिक्रिया