बाँके । कोरोना कहरका कारण नेपालगञ्जको रामलीला मैदानमा १५२ वर्षदेखि प्रत्येक वर्ष मञ्चन हुँदै आएको रामलीला यस वर्ष नहुने भएको छ । विजयादशमीका अवसरमा मञ्चन पारेर नेपालगञ्जको ऐतिहासिक तथा सांस्कृतिक महत्वको रामलीला मञ्चन कोरोना संक्रमणका कारण रोक्नुपरेको रामलीला सञ्चालक समितिका अध्यक्ष सन्तोषकुमार कनौडियाले जानकारी दिए । उनले कोरोना संक्रमणको जोखिम र स्वास्थ्य सुरक्षालाई ध्यान दिँदै यस वर्ष पनि रामलीला मञ्चन नगर्ने निर्णय गरिएको बताए । गत वर्ष पनि कोरोनाका कारण रोकिएको रामलीला मञ्चन १५३औँ वर्ष प्रवेश गरेको ऐतिहासिक तथा सांस्कृतिक महत्व उजागर गर्ने लक्ष्य राखिए पनि महामारीका कारण सार्वजनिकरूपमा स्थगन गरिएको थियो । यस वर्ष रामलीला मञ्चन यस वर्ष १५४औँ वर्षमा प्रवेश गर्दैछ ।
ऐतिहासिक तथा सांस्कृतकि महत्वको रामलीलालाई प्रतीकात्मक रूपमा भने केही कार्यक्रम गरिने तयारीमा सञ्चालक समिति लागेको छ । शनिबार बसेको रामलीला सञ्चालक समितिको बैठकले के–कस्तो स्वरुपको कार्यक्रम गर्ने भन्नेबारे निक्र्याेल गर्न उपसमितिसमेत बनाएको छ । रामलीला सञ्चालन गर्न नसकिए पनि मैदानमा अखण्ड रामायण पाठ, राम, सीतासहितको झाँकी प्रदर्शन लगायतका कार्यक्रम गर्नेबारेमा छलफल गरिएको अध्यक्ष कनौडियाले बताए । नेपालगञ्ज उपमहानगरपालिका–९ स्थित रामलीला मैदानमा हरेक वर्ष घटस्थापनादेखि विजयादशमिसम्म ऐतिहासिक तथा सांस्कृतिक महत्वको रामलीला भव्यरूपमा मनाउँदै आइएको थियो । रामलीला भारत तथा नेपालका कलाकारले अभिनय गर्दै आएका थिए । यस क्षेत्रको परिचय बनेको रामलीला मञ्चनले नेपाल तथा भारतमा नेपालगञ्जलाई चिनाएको रामलीला सञ्चालक समितिका अध्यक्ष कनौडियाको सुनाए ।
रामायणमा आधारित लीला प्रत्येक दिन राति ८ः०० बजेदेखि रामको राज्याभिषेक गरुञ्जेलसम्म जारी रहन्थ्यो । भारतको वृन्दावनबाट आउने कलाकारको टोलीले रामलीला मञ्चन गर्ने परम्परा थियो । यस वर्ष कोरोना महामारीका कारण रामलीला मञ्चन नहुने भए पनि पुर्खाले जोगाउँदै आएको रामलीलालाई अहिलेको पुस्ताले निरन्तरता दिएर जोगाउन आवश्यक रहेको रामलीला सञ्चालक समिति सदस्य एवं नेपालगञ्ज उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष नन्दलाल वैश्यले बताए । सन् १९२५ देखि नेपालगञ्जको रामलीला मैदान र टण्डन राइस मिलमा मञ्चन हँुदै आएको यो कला नेपालीभन्दा बढी सीमावर्ती भारतीयबीच लोकप्रिय छ । विगतमा भारतको उत्तरप्रदेशबाट समेत हजारौँ श्रद्धालु रामलीला दर्शनका लागि आउने गरेको वैश्यले बताए ।
प्रतिक्रिया