म्याग्दीमा मल्लकालीन सामग्री भेटिए

म्याग्दी । जिल्लाको बेनी नगरपालिका–९ र ५ को सिमानामा पर्ने तत्कालीन पर्वत राज्यको राजधानी ढोलठानामा १६औँ शताब्दीका ऐतिहासिक सामग्री भेटिएका छन् । ढोलठानामा पार्क (उद्यान) निर्माणका लागि जग्गा व्यवस्थापन गर्ने क्रममा जमिनभित्र मल्लकालीन सामग्रीहरू भेटिएका हुन् । ढोलठाना समेटिएको नीलबराह सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सागर बानियाले पार्क निर्माणका क्रममा भेटिएका प्राचीन सामग्री सुरक्षित रूपमा राखिएको बताए । तत्कालीन दरबार निर्माणमा प्रयोग भएका काठ, चट्नी र नुन पिस्ने सिलौटो, भिंmगटी, घरका पिल्लर, इँटाहरू भेटिएका उनले जानकारी दिए । ‘जमिनको सतहभित्र तत्कालीन मल्ल राजाका पालाका पुरातात्विक महत्वका सामग्री छन्’, उनले भने, ‘भेटिएका सामग्रीलाई सुरक्षित रूपमा राखेका छाँै । त्यसको सुरक्षा र संरक्षणका लागि वडा, नगरपालिकालाई अनुरोध गरेका छौँ ।’

राजबम मल्लको समयमा १६३१ सालदेखि राजाहरू हिउँदका चार महिना बेनी र अरू आठ महिना ढोलठानामा बसेर तत्कालीन पर्वत राज्य सञ्चालन गरेको इतिहास छ । पर्वत राज्य नेपालमा विलय भएको १८४३ सालसम्म ढोलठानामा सो राज्यको राजधानीका रूपमा रहेको थियो । नेपाल एकीकरणपछि दरबार भत्किएकाले त्यहाँभित्र रहेका सामग्रीहरू भग्नावशेषमा परिणत भएका छन् ।

डिभिजन वन कार्यालय म्याग्दीको सहयोगमा ढोलठानामा सार्वजनिक शौचालय, पदमार्ग र बगँैचा निर्माण गरेर पार्क बनाइएको छ । पार्क बनाउन वन डिभिजन कार्यालयले गत आवमा पाँच लाख बजेट विनियोजन गरेको थियो । यसैगरी बेनी नगरपालिकाले ढोलठाना पुग्ने सडक स्तरोन्नति, पदमार्ग र प्रतीक्षालय निर्माण गरेको छ । चमचा डिलदेखि ढोलठानासम्म दुई सय मिटर ढुंगाको सिँढी चिनेर नयाँ पदमार्ग र प्रतीक्षालय निर्माण गरेको वडाध्यक्ष बेलबहादुर चोखालले जानकारी दिए । उनका अनुसार गत आवमा ढोलठाना जोड्ने सडक स्तरोन्नतिमा नौ लाख, पदमार्ग निर्माण लागि चार लाख र प्रतीक्षालय बनाउन दुई लाख बजेट खर्च भएको छ । समुन्द्री सतहदेखि १ हजार ७ सय मिटर उचाइमा अवस्थित ढोलठाना पर्यटकीय हिसाबले पनि महत्वपूर्ण छ । पुरातात्विक सम्पदाको साथै धवलागिरि, अन्नपूर्ण, निलगिरिलगायत दर्जनौँ हिमाल, सूर्योदयको मनमोहक दृष्य अवलोकन गर्न सकिन्छ । नागबेली परेर बगेको म्याग्दी नदीको साथै पर्वत र बागलुङका बजार तथा बस्ती अवलोकन गर्न पाउनु ढोलठानाको थप विशेषता हो ।

प्रतिक्रिया