कोरोनाले बदलिएको पेसा

सिन्धुली । जिल्लाको सुनकोसी गाउँपालिका–३ झाँगाझोलीका विवेकराज गिरीको दैनिकी अहिले फेरिएको छ । टिपर चलाएर कहिले काठमाडांै कहिले सिन्धुली गर्ने गिरी अहिले आफ्नै ठाउँमा पशुपालनमा व्यस्त छन् । ‘०७६ चैतको लकडाउनले टिपर नचलेपछि घरखर्च साथै टिपरको ऋण तिर्न सकिएन । त्यसपछि टिपर बेचेर, बाख्रा पाल्न सुरु गरेँ’, गिरीले भने, ‘लगभग १२ लाख लगानीमा बाख्राको खोर बनाइयो । १० लाख लगानीमा बाख्रा हालेको छ ।’

३० वर्षीय गिरी भाइसँग मिलेर घर नजिकै आफ्नो खाली जग्गामा २२ लाख लगानीमा विकास पशुपक्षी फर्म नै दर्ता गरेर बाख्रापालनमा लागेका छन् । फर्ममा अहिले ३२ वटा विभिन्न जातका बाख्रा र तीन वटा ब्याडे बोका छन् । ‘६ महिना भयो बाख्रा हालेको । सुरुमा १६ वटा बाख्रा हालेको अहिले तिनिहरूका १६ वटा बच्चा छन् । यहि फर्ममा बाख्रा उत्पादन हुन्छ’, गिरीले भने, ‘ब्याडे बोकाबाट पनि आम्दानी हुन थालेको छ ।’ गाउँघर र नजिकका फर्मबाट अरू जातका बाख्रामा बोयरको क्रस गर्न ब्राखा ल्याउने गरेको उनले बताए । एउटा बाख्रामा बोयरको क्रस गराए बापत एक हजार रुपैयाँ लिने गरेको गिरीको भनाइ छ । गिरीले अहिले दसैँमा बिक्री गर्नका लागि खसी, बोका र बाख्रा तयारी गरिरहेका छन् । ‘अहिले जन्मेका यी सबै पाठापाठी दसँैका लागि बिक्री गर्न हो ।’ खोरका पाठापाठी देखाउँदै गिरीले भने, ‘दसँैदेखि त राम्रै आम्दानी हुन्छ होला ।’ केही दिनमा फेरि ब्राखा थप गर्ने उनले सुनाए । परिवारसँगै बसेर व्यवसाय गर्न पाउँदा खुसी लागेको उनी बताउँछन् ।

यस्तै कृष्णहरि पुरी पनि दाइसँग मिलेर व्यवसाय गर्न पाउँदा खुसी लागेको बताउँछन् । २५ वर्षीय पुरी पैसा कमाउनका लागि नेपालमा बाटो, होटललगायत काम गर्दै वैदेशिक रोजगारीका लागि रसियासमेत पुगेको बताए । ०७६ चैतमा जारी भएको लकडाउनको कारण घरमा आएका पुरी दाइको सल्लाहमा पशुपालनमा लागेको बताउँछन् । ‘पैसा कमाउनकै लागि बाटो, होटल र रसिया समेत काम गर्न पुगेँ । सबै काम पनि गरेँ’, पुरीले भने, ‘यहीँ बसेर नि कमाइ गर्न सकिन्छ भन्ने सोच आएको छ अहिले । बाख्राबाट आम्दानी भएन भने पनि आफ्नो बाँझो जमिनमा कृषि गर्ने सोच बनाएको छु ।’

परिवारले पनि व्यवसाय गर्न सहयोग गरेको पुरीले सुनाए । मिहिनेत गर्नसके आफ्नै ठाउँमा राम्रो आम्दानी हुने उनले बताए । कोरोना भाइरसको कारण रोजगार गुमाई घरमा रहेका युवाहरू कृषिमा लागे राम्रो आम्दानी गर्न सक्ने पुरीको भनाइ छ । कोरोना संक्रमणको कारण विवेक र कृष्णहरि जस्तै देश विदेशका विभिन्न क्षेत्रमा कार्यरत युवा पनि आफ्नै ठाँउमा फर्किएका छन् । उनीहरू अहिले आफ्नै ठाउँमा कृषि, पशुपालन तथा अन्य काममा रमाइरहेका छन् । वर्षाैंदेखि बाँझो रहेका जमिनहरू अहिले हरियालीमा परिणत भएका छन् ।

प्रतिक्रिया