एनआरएनए र सगुनबीच सहमति

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) तथा सामाजिक सञ्जालमा आधारित इ—कमर्स कम्पनी सगुनबीच आपसी सहकार्य गर्नेबारे एक समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

समझदारीपत्रमा एनआरएनएले सामाजिक सञ्जालमा आधारित इ—कमर्समार्फत नेपाल र नेपाली डायस्पोरालाई विश्वस्तरमा चिनाउन सगुनले निर्वाह गर्दै आएको भूमिकाको प्रशंसा गरेको छ । त्यस्तै प्रवासमा रहेका नेपालीद्वारा सुरु गरिएका नयाँ पुस्ताका स्टार्ट अप कम्पनीहरुलाई प्रोत्साहित गर्न सगुनले सघाउने विश्वास पनि एनआरएनएले व्यक्त गरेको छ ।

एनआरएनए र सगुन कल्याणकारी गतिविधिहरुमा सहकार्य गर्ने सम्भावनाको खोजी गर्न पनि सहमत भएका छन् । बयासी मुलुकमा फैलिएको एनआरएनएले आफ्नो स्थापनाकालदेखि नै प्रवासमा रहेका नेपालीले सुरु गरेका नवीनतम् विचार तथा परियोजनाहरुलाई सघाउँदै आएको छ ।

सो अवसरमा एनआरएनएका केन्द्रीय अध्यक्ष कुमार पन्तले प्रवासी नेपालीसँग रहेको सीप, प्रविधि र पूँजी नेपाल भित्र्याउन काम गरिरहेको बताए । सगुनका संस्थापक गोविन्द गिरीले संसारभरि फैलिएका नेपालीहरुको साझा संस्था एनआरएनएसँगको सहकार्य दुवै पक्षका लागि लाभदायी हुने बताए ।

सन् २०१५ मा औपचारिक रुपमा सुरु गरिएको सगुनका अमेरिका, नेपाल र भारतमा कार्यालयहरु छन् भने अहिले झन्डै ६५ लाख प्रयोगकर्ताहरुले सगुन एप चलाइरहेका छन् भने ६५ राष्ट्रहरुबाट चार हजार ५०० भन्दा बढी लगानीकर्ता यसमा जोडिएको बताइएको छ ।

प्रतिक्रिया