चौधरी फाउन्डेसनद्वारा आईसियु वार्ड हस्तान्तरण

काठमाडौं । चौधरी फाउण्डेसनले देशकै जेठो वीर अस्पतालमा आईसियू वार्ड स्थापना गरि बिहीबार अस्पताल व्यवस्थापनलाई हस्तान्तरण गरेको छ । कोभिड–१९ को दोस्रो लहरबाट संक्रमित सर्वसाधारण नेपाली नागरिकको उपचारमा योगदान पु¥याउन फाउण्डेसनले वीर अस्पतालमा आईसियू वार्ड निर्माण गरेको हो । चौधरी फाउण्डेसनका उपाध्यक्ष निर्वाण चौधरीले वीर अस्पतालमा आयोजित एक कार्यक्रमवीच कोभिड युनिफाईड केन्द्रिय अस्पताल (वीर अस्पताल)का प्रमुख कार्यकारी प्रमुख प्रा.डा.जागेश्वर गौतमलाई आईसियू वार्ड हस्तान्तरण गरेका हुन । वीर अस्पताल, नयाँ भवनको पहिलो तलामा नौं शैया र दोस्रो तलामा नौं शैयाका गरि कुल १८ शैयाको आईसियू वार्ड निर्माण भएको छ । विश्व बजारमा उपलब्ध पछिल्लो पुस्ताको प्रविधी प्रयोग गरेर आईसियू वार्ड निर्माण गरिएको छ ।

फाउण्डेसनका अध्यक्ष विनोद चौधरीले सर्वसाधारण नेपाली नागरिकको उपचारमा सहज पहुँच भएको वीर अस्पतालमा आईसियू वार्ड स्थापना गरि सबै नेपालीको सेवामा समर्पित गरिएको बताएका थिए । उनले कोरोनाबाट संक्रमित नेपाली नागरिकको जीवन रक्षा गर्नु अहिले सबैभन्दा महत्वपुर्ण दायित्व भएको पनि बताए । अध्यक्ष चौधरीले कोरोना महामारीसँग जुधिरहेको बेला प्रत्येक नेपाली नागरिकको जीवन रक्षा महत्वपूर्ण छ भन्ने कुरालाई कसैले पनि विर्सन नहुने धारणा राखे । कोभिड युनिफाईड अस्पतालका प्रमुख कार्यकारी प्रमुख प्रा.डा.गौतमले कोरोना महामारीसँग जुध्न चौधरी फाउण्डेसनले पु¥र्याएको योगदानका लागि धन्यवाद दिदै यसले आम नेपालीको उपचारमा ठूलो सहयोग पुग्ने बताए ।

फाउण्डेसनले गत बर्ष कोरोनाको पहिलो लहरमा भेन्टिलेटर, पिसिआर रिएजेन्ट देखि पिपिई र स्वास्थ्य सामाग्री देशभरका अस्पतालहरूमा उपलब्ध गराएको थियो । फाउण्डेसनले आईसियू वार्ड स्थापना गर्न केन्द्रिय कोभिड अस्पतालसँग सहमति पत्रमा हस्ताक्षर गरेको करिव तीन सातामा आईसियू वार्ड निर्माण गरि हस्तान्तरण गरेको हो । फाउण्डेसनको समन्वय र नबिल बैंकको वित्तिय सहयोगमा अक्सिजन प्लान्ट स्थापना पनि गर्न लागिएको जानकरी सो अवसरमा गराइएको थियो ।

प्रतिक्रिया