जसपा विभाजनको सन्देश

सत्ता सञ्चालन गर्ने अवसर आएपछि विभाजित हुने नेपालका राजनीतिकदलहरूको रोगै हो । फरक यति हो कि ठूला पार्टी विभाजन हुन अलि धेरै समय लाग्ने गरेको छ, साना पार्टी छिटो विभाजन हुने गरेका छन् । नेपालीमा एउटा उखान नै छ, ‘बोकाको मुखमा कुभिण्डो ।’ मधेसीदल जसपा फुटेको घोषणा छिटै हुँदै छ । अघिल्लो पटकको लकडाउनमा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी विभाजन खुकुलो हुने अध्यादेश ल्याएपछि आफ्नै पार्टी नेकपाद्वारा व्यापक विरोध भयो । उनले मधेसीदल विभाजनका लागि अध्यादेश ल्याएको स्पष्टीकरण पार्टीभित्र दिए । केही समयअघि महेश बस्नेत, किसान श्रेष्ठ लगायतका संसद्हरूले नेपाल प्रहरीको पूर्वआइजीपी सर्वेन्द्र खनालको सहयोगमा मधेसीदलका एक सांसदलाई वीरगञ्जबाट जवरजस्ती काठमाडौं ल्याएको समाचारले निकै माहौल तातेको थियो । प्रधानमन्त्री ओलीको पार्टी विभाजन गर्ने कदमलाई रोक्ने भन्दै दुई वटा मधेसीदल राजपा र सजपा मिलेर जसपा (जनता समाजवादी पार्टी) गठन भएको थियो । तर प्रधानमन्त्री ओलीको प्रयत्नलाई निस्तेज पार्न मधेसीदलका नेताहरूले सकेनन् । डेढ वर्षअघि देखिको आफ्नो मिसनमा अन्तत्वोगत्वा प्रधानमन्त्री ओली सफल भए ।

सर्वोच्च अदालतले गरेको नेकपा विभाजनको फैसलासँगै जनता समाजवादी पार्टी (जसपा) विभाजनको सुरुआत भएको हो । त्यतिबेला नै उपेन्द्र यादव र डा. बाबुराम भट्टराई लगायतका नेताहरूको एउटा खेमा बन्यो । महन्थ ठाकुर र राजेन्द्र महतो लगायतका नेताहरूको अर्को खेमा बन्यो । दुवै खेमाले एकअर्कालाई कारबाही गरिसकेका छन् । नेकपा एक ढिक्का रहेको अवस्था हुन्थ्यो भने जसपाको विभाजनले खासै चर्चा पाउँदैनथ्यो । सायद जसपा विभाजन हुने पनि थिएन । सर्वोच्च अदालतको गत फागुन २३ गतेको फैसलाले तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रलाई यथास्थितिमा फर्काइदिएपछि प्रतिनिधिसभामा कुनै पनि पार्टीको बहुमत रहेन । नेकपा एमाले एकातिर र नेपाली कांग्रेस तथा माओवादी केन्द्र अर्कातिर धु्रवीकृत भए । प्रतिनिधिसभामा एमालेको १ सय २१ र कांग्रेस तथा माओवादी केन्द्रको १ सय १० सिट भएको अवस्थामा ३२ सिट रहेको जसपाको हातमा सत्ताको साँचो पुग्यो ।

जसपा जुन कित्तामा उभिन्छ उही कित्ताको बहुमत पुग्ने गरी समीकरण निर्माण भयो । तर, आफू कहाँ उभिने ? भन्ने निर्णय जसपाले गर्न सकेन । महन्थ–महतो खेमा प्रधानमन्त्री ओलीको कित्तामा उभियो । उपेन्द्र–बाबुराम खेमा विपक्षी गठबन्धनमा उभियो । एमालेमा विग्रह नआएको भए महन्थ–महतो खेमाको सहयोगमा प्रधानमन्त्री ओलीले बहुमत पु¥याउने थिए । तर, एमालेको माधव नेपाल खेमाले गरेको विद्रोहका कारण जसपाको महन्थ–महतो खेमाको साथ सहयोग प्रधानमन्त्री ओलीका लागि बहुमत पु¥याउने आधार बनेन । फेरी प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री ओलीको रणनीतिलाई भने जसपाको महन्थ–महतोको साथ सहयोगले मूर्तरूप दियो ।

आफ्नै अन्तद्र्वन्द्वका कारण मधेसीदल जसपाले सरकारको नेतृत्व गर्ने ऐतिहासिक अवसर गुमाएको छ । पहिलो कुरा त मधेसी समुदायबाट सरकारको नेतृत्वमा पुग्नु यसै पनि ऐतिहासिक अवसर हुने थियो, दोस्रो कुरा पार्टी गठन भएको डेढ दशक पुग्दा नपुग्दै सत्ताको नेतृत्वमा पुग्नु आफँैमा नयाँ इतिहास हुन्थ्यो । सन्मुखमै आइपुगेको नयाँ इतिहास रच्ने मौकालाई जसपाले किन सदुपयोग गर्न सकेन ? कहाँ चुके राजपाका नेताहरू ? भन्ने प्रश्न यतिबेला मुलुकको राजनीतिमा निकै पेचिलो बनेको छ । जसपा एक ढिक्का भएर आपूmले सरकारको नेतृत्व गर्ने अवसर पाए मात्रै कुनै कित्तामा उभिने अडान राखेको भए महन्थ ठाकुर, उपेन्द यादव र डा. बाबुराम भट्टराईमध्ये एक जनाको नेतृत्वमा यतिबेला मुलुकमा बहुमतको सरकार बनिसक्ने थियो । अहिलेको जस्तो राजनीतिक अन्योल मुलुकले बेहोर्नुपर्ने थिएन । तर, एउटा नेताले अर्को नेता प्रधानमन्त्री बनेको देख्न चाहेनन । अर्काको उन्नतिमा आफ्नो पतन देख्ने प्रवृत्ति हावी भयो । संस्थागत बनिनसकेको पार्टीमा एक नेताले अर्को नेताको उत्थानमा आफ्नो पतन देख्ने प्रवृत्ति हावी हुन्छ । क्षमताभन्दा बढी हावा भरियो भने बेलुन फुट्छ, राजनीतिक दल पनि हैसियतभन्दा बढी अवसर प्राप्त भयो भने फुट्दो रहेछ भन्ने सन्देश जसपामा उत्पन्न विग्रहले दिएको छ ।

प्रतिक्रिया