काठमाडौंका यी स्थानमा दिइनेछ भेरोसेल खोपको दोस्रो डोज

काठमाडौं । काठमाडौंमा आइतबारदेखि कोरोना भाइरसविरुद्धको ‘भेरोसेल’ खोपको दोस्रो डोज प्रदान गरिँदैछ। वाग्मती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले जारी गरेको सूचनामा पहिलो डोज लगाएका व्यक्तिले आफू निकट पालिका, वडा र खोप केन्द्रमा गएर खोप लगाउन सकिने उल्लेख गरिएको छ।

सूचना अनुसार चैत २५, २६,२७ र २८ गते भेरोसेलको पहिलो डोज लगाएकाले जेठ २ गते, चैत २९ र ३० गते लगाएकाले जेठ ३ गते, चैत ३१ र बैशाख २ गते खोप लगाएकाले जेठ ४ गते, बैशाख ३ र ४ गते लगाएकाले जेठ ५ गते, बैशाख ५ र ६ गते खोप लगाएकाले जेठ ६ गते दोस्रो डोज लगाउन सक्नेछन्। यस्तै, बैशाख ७, ८, ९ र १० गते पहिलो खोप लगाएकाहरुले जेठ ७ गते, बैशाख ११ र १२ गते लगाएकाले जेठ ८ गते, बैशाख १३ गते पहिलो डोज लिएकाले जेठ ९ गते दोस्रो डोज लिन सक्नेछन्। बैशाख १४ गते पहिलो डोज लिएका व्यक्तिहरुले जेठ १० र बैशाख १५ गते खोप लिएकाले जेठ ११ गते दोस्रो डोज लगाउन सक्नेछन्।

काठमाडौंमा संक्रमण फैलिरहेको अवस्थामा धेरै भिडभाड हुन नदिन यसपटक काठमाडौंमा करिब ५० वटा खोप केन्द्रहरुको व्यवस्था गरिएको छ। पहिलो डोज भने निश्चित अस्पताल र स्वास्थ्य केन्द्रबाट मात्रै प्रदान गरिएको थियो। दोस्रो डोज भने काठमाडौं महानगरपालिकाको ३२ वटै वडाबाट प्रदान गरिनेछ। त्यसका लागि ३२ वटा खोप केन्द्रहरु छुट्याइएको छ। ३२ वटा खोप केन्द्रसँगै महाराजगञ्ज मेडिकल क्याम्पसमा समेत खोप दिइनेछ।

चन्द्रागिरी नगरपालिकामा तीनवटा खोप केन्द्र तय गरिएको छ। कीर्तिपुर नगरपालिका, बुढानीलकण्ठ नगरपालिका, गोकर्णेश्वर नगरपालिका, टोखा नगरपालिका, नागार्जुन नगरपालिकामा दुई-दुई स्थानमा खोप केन्द्र तय गरिएको छ। कागेश्वरी मनोहरा नगरपालिका, तारकेश्वर नगरपालिका, शंखरापुर नगरपालिका र दक्षिणकाली नगरपालिकामा भने एक-एक वटा खोप केन्द्र तय गरिएको छ।

प्रतिक्रिया