क्षमताभन्दा तेब्बर बढी कैदीबन्दीले संक्रमणको जोखिम झेल्दै

बैतडी । नयाँ भेरियन्टसहितको कोरोना संक्रमणको दोस्रो लहर फैलिएका बेला जिल्ला कारागार बैतडीमा क्षमताभन्दा तेब्बर बढी कैदीबन्दी हुँदा समस्या भएको छ । जम्मा २५ जनाको क्षमता रहेको जिल्ला कारागारमा हाल ७१ कैदीबन्दी छन् ।

क्षमताभन्दा बढी कैदीबन्दी हुँदा कोरोना संक्रमणको जोखिम बढेको कारागारका अनिल तिवारीले जानकारी दिए । कैदीबन्दी बढी हुँदा कोरोना संक्रमणका साथै बसोबास र सुरक्षाको दृष्टिकोणले पनि चुनौती छ ।

उनले भने, ‘बस्ने ठाउँको अभावमा त्रिपाल राखेर कैदीबन्दीलाई राखिएको छ ।’ कारागारमा अहिले ३८ कैदी र ३३ थुनुवा छन् । भित्र बस्ने ठाउँ नभएपछि कारागारको आँगनमा त्रिपाल राखेर कैदीबन्दीहरुको बसोबासको व्यवस्था मिलाइएको छ ।

उनले भने, ‘संक्रमणको जोखिम बढ्दै गएको छ तर हालसम्म एकजनामा पनि संक्रमण देखिएको छैन् ।’ कैदी तथा थुनुवालाई भेटघाट गर्न दिँदा संक्रमणको जोखिम हुने भएकोले भेटघाट बन्द गरिएको छ । २०४० सालमा निर्माण गरिएको कारागार भवन पुनःनिर्माण नहुँदा जीर्ण बन्दै गएको छ ।

प्रतिक्रिया