२ सय ७२ जना संक्रमित, पाँचको मृत्यु

धनगढी । सेती प्रादेशिक अस्पताल धनगढीको प्रयोगशालामा गरिएको परीक्षणमा थप २ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार गरिएको कोरोना परीक्षणमा उक्त संख्याका व्यक्तिहरूमा संक्रमण पुष्टि भएको हो । शुक्रबार कैलालीको धनगढी उपमहानगरपालिकाका ८८ पुरुष, ४६ महिला गरी १ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए । त्यसैगरी कैलालीका अन्य पालिकाका ८९ पुरुष, ३२ महिला गरी १ सय २१ जनामा र अन्य जिल्लाका १४ पुरुष, तीन महिला गरी १७ जनामा संक्रमण पुष्टि भएको जनाइएको छ । कुल ५ सय ६४ स्वाबको परीक्षण गर्दा २ सय ९२ जनाको नतिजा नेगेटिभ आएको हो ।

शुक्रबार अपरान्हसम्म सेती प्रादेशिक कोरोना अस्थायी अस्पतालमा उपचाररत तीन पुरुष र दुई महिला गरी थप पाँच जना कोरोना संक्रमितको मृत्यु भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए । उनका अनुसार मृत्यु हुनेमा कैलालीको गोदावरी नगरपालिका–३ का ७० वर्षीय पुरुष, लम्कीचुहा नगरपालिका–७ का ४६ वर्षीय पुरुष, धनगढी उपमहानगरपालिका–१ का ५५ वर्षीय पुरुष र ६० वर्षीया महिला र पर्वत जिल्लाकी ७६ वर्षीया महिला रहेकी छन् ।

सेती प्रादेशिक कोरोना अस्थायी अस्पतालमा शुक्रबारसम्म ५० जना संक्रमित उपचाररत रहेकोमा तीन जनाको भेन्टिलेटर १५ जनाको आइसियु र ३० जनाको अक्सिजन सहायतामा उपचार भइरहेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया