काभ्रे । भकुण्डेबेशी–नमोबुद्ध नगरपालिका–४ स्थित जनक बहुमुखी क्याम्पसमा ४० बेडको आइसोलेसन केन्द्र तयार भएको छ । नमोबुद्ध नगरपालिका र रोशी गाउँपालिकाले संयुक्तरूपमा मेथिनकोट अस्पतालसँगै रहेको क्याम्पस भवनमा आइसोलेसन केन्द्र स्थापना गरेका हुन् । उक्त आइसोलेसन केन्द्रमा हाल एक जना बिरामी राखिएको छ । नमोबुद्ध नगरपालिकाकी ६० वर्षीया कोरोना संक्रमित महिलालाई आइसोलेसनमा राखी उपचार अघि बढाइएको हो ।
मेथिनकोट अस्पतालमा उपचारको क्रममा गरिएको पिसिआर परीक्षणमा उनमा कोभिड–१९ को संक्रमण पुष्टि भएको थियो । बुधबार संक्रमण पुष्टि भएकी महिलाको अवस्था अहिले सुधारोन्मुख रहेको मेथिनकोट अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.सागर जर्घामगरले जानकारी दिएका छन् ।
नमोबुद्ध नगरपालिका र रोशी गाउँपालिकाबीच सोमबार संयुक्त आइसोलेसन स्थापनाको सहमति भएको थियो । सहमतिअनुसार आइसोलेसनका लागि आवश्यक सबै पूर्वाधारको व्यवस्था गरी सञ्चालनमा ल्याइएको नमोबुद्ध नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले जानकारी दिए । शुक्रबार नमोबुद्ध नगरपालिका र रोशी गाउँपालिकाको टोलीले आइसोलेसन केन्द्रको अनुगमनसमेत गरेको छ । दुबै पालिकामा रहेका सीमित जनशक्तिलाई संयुक्त र एकीकृत ढंगबाट परिचालन गर्दै कोभिड–१९ विरुद्धको अभियानलाई प्रभावकारी बनाउन र आइसोलेसनमा बस्नुपर्ने बिरामीको सेवा थप प्रभावकारी बनाउन दुई पालिकाबीच सहमति गरिएको नमोबुद्ध नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पौडेलले बताए ।
आइसोलेसन केन्द्रमा रहेका सबै बेडमा अक्सिजनसहितको अत्यावश्यक स्वास्थ्यसामग्रीको व्यवस्थापन गरिएको छ भने चौबिसैघण्टा स्वास्थ्यकर्मीले हेरचाह र निगरानी गर्ने व्यवस्था गरिएको छ । आइसोलेसन केन्द्रमा कालीजंग गण धुलिखेलको टोलीले सुरक्षा दिनेछ । आइसोलेसनमा दुबै पालिकाबाट एक एक जना चिकित्सक आलोपालो हुनेगरी खटिनेछन् भने कोभिड–१९ का बिरामीको संख्याको आधारमा दुबै पालिकाबाट स्वास्थ्यकर्मी खटाइनेछ ।
प्रतिक्रिया