सल्यान जिल्ला अस्पतालमा बिरामीको चाप बढ्यो

सल्यान । कर्णाली प्रदेशमै सल्यान जिल्ला कोरोना संक्रमणबाट बढी प्रभावित बन्न पुगेको छ । जिल्लामा दिनप्रतिदिन बढिरहेको कोरोना संक्रमण र संक्रमितको मृत्यु दिनानुदिन बढ्न थालेपछि जिल्ला उच्च जोखिममा रहेको छ । स्थानीय प्रशासनले गएको १९ गतेदेखि जेठ १ गतेसम्म १३ दिन लामो निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञाका कारण जिल्ला पूर्णरूपमा ठप्प भएको छ । कोरोना संक्रमण बढ्न थालेपछि स्थानीयहरू त्रसित भएर गत वर्षको तुलनामा घरबाहिरसमेत कमै मात्रामा निस्केका छन् ।

जिल्लाका स्थानीय तहहरूले अक्सिजन सहितको आइसोलेसन तयार गरेको भए पनि विरामीहरू सल्यान अस्पतालमा आउँदा बिरामीको चाप मात्रै बढेको छैन कोरोना वार्डमा भएका १६ शय्या भरिएपछि इमरजेन्सी वार्डका सबै शय्याहरूमा समेत कोरोना संक्रमितहरूले भरिएका छन् । अस्पतालमा अहिले इमरजेन्सीबाहेक सबै सेवाहरू बन्द गरेर पूर्णरूपमा कोरोना संक्रमितहरूको उपचारमा केन्द्रित रहेको अस्पतालले जनाएको छ ।

सल्यान अस्पतालमा गत आर्थिक वर्षमा दुई वटा भेन्टिलेटर उपलव्ध भए पनि अहिलेसम्म सञ्चालनमा ल्याउन सकिएको छैन । कोरोना संक्रमितहरूको उपचारका लागि आइसियु र भेन्टिलेटर आवश्यक परेको अवस्थामा भने जिल्ला बाहिर रिफर गर्नुपर्ने अवस्था रहेको सल्यान अस्पताल सल्यानका डाक्टर भीमकान्त जैसीले जानकारी दिए ।

अस्पतालमा भएका भेन्टिलेटर सञ्चालन गर्न नसक्नुमा दक्ष जनशक्तिको अभाव मात्रै छैन त्यसमा प्रयोग गरिने औषधि र नियमित बिजुली प्रवाह नहुने समस्याले गर्दासमेत सञ्चालन गर्न नसकिएको डा.जैशीको भनाइ छ । ‘भेन्टिलेटर सञ्चालन गर्नका लागि नियमित अक्सिजनको समेत आवश्यकता पर्छ, यहाँ त्यसका लागि दुई जना स्वास्थ्यकर्मीले तालिम त लिनुभएको छ तर त्यो प्रर्याप्त नभएकोले सञ्चालन गर्न गाह्रो छ’, डा. जैशीले भने ।

अहिले सिलिन्डरबाट अक्सिजन पु¥याइरहेको त्यो पनि अप्रर्याप्त भएका कारण अस्पतालमा समस्या पर्दै आएको छ । अस्पतालमा भेन्टिलेटर सञ्चालन गर्नका लागि अक्सिजन प्लान्ट सञ्चालन गर्नुपर्ने डाक्टर जैशीको भनाइ छ । ‘अहिले हामीसँग भएका सिलिन्डर नै अप्रर्याप्त छ थप २० देखि ३० वटा सिलिन्डर भएको अवस्थामा अहिलेको अवस्थालाई अस्पतालले धान्न सक्ने अवस्था छ’, जैशीले भने ।

जिल्लामा संक्रमणदर बढ्न थालेपछि कर्णाली प्रदेश सरकारले समेत अत्यावश्यक सामग्री खरिदका लागि एक करोड रुपैयाँ निकासा गरेको कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले जानकारी दिए । सल्यान अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्ने, एम्बुलेन्स व्यवस्था गर्ने तथा थप आइसोलेसन तयार गर्नका लागि आवश्यक बजेट कर्णाली प्रदेश सरकारले व्यवस्था गर्ने मुख्यमन्त्री शाहीले जानकारी दिए । यसअघि नै कर्णाली प्रदेश सरकारले कोरोना संक्रमणबाट मृत्यु भएमा एक लाख र बिरामी हुँदा सुगम तथा दुर्गमको अवस्था हेरेर चार सयदेखि ६ सय रुपैयाँसम्म दैनिक उपलव्ध गराउने निर्णय गरिसकेको छ ।

जिल्लामा अहिलेसम्म कोराना संक्रमणबाट ११ जनाको मृत्यु भएसकेको छ भने ३ सय ६० जनाभन्दा बढी सक्रिय संक्रमित रहेको जनाइएको छ । यस्तै लक्षण सहितका २३ जनाभन्दा बढीको सल्यान अस्पतालमा उपचार भइरहेको अस्पताल स्रोतले जनाएको छ ।

प्रतिक्रिया