डढेलोले वन सखाप बनाउदै

काठमाडौं । सुख्खायाम शुरु भएसँगै सामुदायिकसहितका वन जंगलमा डढेलो लाग्ने क्रम बढेको छ । वन तथा भू–संरक्षण विभागको वन डढेलो पहिचान तथा अनुगमन प्रणालीको पछिल्लो तथ्यांक अनुसार ५६ जिल्लाका पाँच सय २३ ठाउँ भन्दा बढिमा डढेलो लागिरहेको छ । प्रणालीको तथ्यांकअनुसार सबैभन्दा धेरै डढेलो पर्सा जिल्लामा लागेको छ । पर्सामा मात्र ६० ठाउँको जंगलमा डढेलो लागिरहेको छ । तराईमा धेरैजसो पूर्व–पश्चिम राजमार्ग छेउछाउको जंगलमा आगलागी भइरहेको छ । संरक्षित तथा सामुदायिक वनहरूमा आगलागी भइरहेको वन विभागले जनाएको छ । पूर्व–पश्चिम राजमार्गको रौतहट खण्डको जंगलमा पनि शनिबार बिहानैदेखि आगलागी भइरहेको छ । विभागका अनुसार तराईमा मात्र नभएर पहाडी जिल्लामा पनि डढेलो लागि रहेको छ ।

मकवानपुरमा ४१, चितवनमा २७ र नवलपुरमा २६ ठाउँमा डढेलो लागिरहेको छ । तापक्रम बढ्दै जाँदा पश्चिम नेपाल र मध्य तराई तथा केही पहाडी भेगमा डढेलो निकै फैलिएकोले सतर्क रहन विज्ञहरूले चेतावनी दिएका छन् । शुक्रबारदेखि बढेको वायु प्रदूषणको मुख्य कारण पनि डढेलो नै रहेको वातावारण विभागका प्रवक्ता इन्दुबिक्रम जोशीले बताए । वायु प्रदूषणले जनस्वास्थ्यमा गम्भीर प्रभाव पर्ने भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि सावधानी अपनाउन आग्रह गरेको छ ।

यस वर्ष नेपालको वन क्षेत्रमा लागेको डढेलो एक दशकयताकै उच्च भएको वन तथा भू–संरक्षण विभागले जनाएको छ । नेपालमा सामान्यतया चैतदेखि जेठसम्म बढी आगलागी हुने गर्छ । विभागका अनुसार सल्यान, उदयपुर, सुर्खेत, तेह्रथुम, बाँके, पर्सा, दाङ, डोटी, पाल्पा, खोटाङ, नवलपुर, जाजरकोट, म्याग्दी, रौतहट, धनकुटा लगायतका जिल्लामा आगलागी बढी आगलागी भइरहेको छ । गत वर्ष कोरोना भाइरसको त्रासले मानिसहरूको चहलपहल कम भएको थियो । रुखबाट झरेका सुख्खा पातहरू व्यवस्थापन नभएकाले डढेलोको जोखिम रहेको विभागले जनाएको छ ।

गत वर्षदेखि अमेरिकास्थित नासाको स्याटेलाइट मार्फत देशभर रहेका मुख्य वन तथा स्थानीय वडामा भएका वनमा लागेको डढेलो पहिचान गर्न थालिएको छ । इसिमोडसँगको प्राविधिक सहकार्यसँगै डढेलो पहिचानको काम थालिएको हो । हरेक वर्ष आगलागीबाट करिब दुई लाख हेक्टर वन क्षेत्र नष्ट हुने गरेको तथ्यांकले देखाउछ ।

विश्वभरका विभिन्न जंगलमा डढेलो लाग्नुको कारण प्राकृतिक जसमा बढी जसो मौसमी ताप बढेर वा ढुंगाको घर्षण भएर डढेलो लाग्ने गरेको छ । नेपालमा अधिकांश आगलागी मानवीय व्यवहारका कारणले नै हुने गरेको छ । मानिसहरू जंगल गएका बेला चुरोटका ठुटाहरू र बनभोज जानेहरूले डढेलो लगाउने गरेको छ । अर्थ मन्त्रालयले पर्याप्त बजेट विनियोजन नगर्दा वन डढेलो रोकथामका सामग्री खरिद गर्न नसकिएको बताएको छ । तालिम र सामान्य औजार खरिद गर्न वार्षिक १ लाख बजेट छुट्याउने गरेको छ ।

लामो समयसम्म पानी नपर्दा र मानवीय लापरबाहीका कारण आगलागीका घटना बढेको सरकारले निष्कर्ष निकालेको छ । लामो समयदेखि पानी नपर्दा सुख्खापन बढेकोे र यसमा मानवीय लापरबाही पनि थपिँदा आगलागीका घटना दिनहुँ बढ्दै गएको गृह मन्त्रालय मातहतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

यसपालिको प्रि मनसुनमा मौसमविद्ले पानी पर्ने सम्भावना खासै नभएको बताएकाले आगलागी र डढेलोको जोखिम अझै धेरै रहेको छ । यस्तै आवश्यक जनशक्ति र प्रयाप्त आधुनिक उपकरण नहुँदो डढेलो र आगो निभाउन समस्या भइरहेको छ । अहिले देशका विभिन्न ४० ठाउँमा डढेलो नियन्त्रणका लागि उपकरण तयारी अवस्थामा राखिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले बताए । उपकरणको अभावमा यो वर्ष पाथिभराको जंगललगायत ठाउँमा लागेको आगो निभाउन निक्कै समस्या भएको थियो ।

यस्तै आवश्यक ऐन कानुनको अभावले पनि जनशक्ति व्यवस्थापन गर्न समस्या भइरहेको उनको भनाइ छ । शनिवारमात्रै ५१ जिल्लाका विभिन्न २०९ ठाउँमा डढेलो लागेको छ । सम्भावित जोखिमलाई मध्यनजर गर्दै नियन्त्रणका लागि तयारी थालेको पनि प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत पोखरेलले बताए । उनका अनुसार डढेलो नियन्त्रण र व्यवस्थापनका लागि सम्बन्धित निकायसँग समन्वय गरेर काम भैरहेको छ । सरकारी तथ्यांक अनुसार यस अघि सन् २००९ मा सबैभन्दा धेरै आगलागी र डढेलो लागेकोे थियो ।

प्रतिक्रिया