बेपत्ता झा दम्पतीबारे महोत्तरी प्रहरीलाई तनाव

जलेश्वर । घरमै सुतिरहेको अवस्थामा ओछ्यानसहित महोत्तरीको पिपरा गाउँपालिका–५ का एक झा दम्पती विगत २२ दिनदेखि बेपत्ता छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दिनेशकुमार आचार्यका अनुसार स्थानीय ६५ वर्षीय मोसाफिर झा र उनकी पत्नी ६० वर्षीया गीतादेवी सुतिरहेकै अवस्थामा फागुन १० गते राति घरैबाट अज्ञात समूहले ओछ्यानसहित बेपत्ता पारेकोमा अहिलेसम्म उनीहरूको अवस्था अज्ञात छ ।

उनको घर र चौकसमा रगतका छिट्टा देखिएकाले घटना रहस्यमय भएको भन्दै प्रहरीले फागुन ११ गते मङ्गलबार बिहानैदेखि वृद्ध दम्पतीको व्यापकरुपमा खोजतलास गरिरहेको छ । तर, आज २२औँ दिन बितिरहँदा वृद्ध दम्पतीको खोजीमा जिल्ला प्रहरी, प्रदेश प्रहरी र विभिन्न गोप्य सुराकी लगाई सकिएको अवस्थामा पनि उनीहरूको कुनै अत्तोपत्तो लागेको छैन ।

प्रहरीले उनको गाउँको चारैतिरको वन चौर, झाडी, खोला नाला, पोखरी र छिमेकी गाउँ तथा जिल्लाको विभिन्न स्थानसहित छिमेकी जिल्ला धनुषासमेत विभिन्न स्थानमा व्यापकरुपमा उनीहरूको खोजतलाश गरिसकेको छ । वृद्ध दम्पती नभेटेपछि घटना झन् झन् जटिल बन्दै गइरहेको छ । चौबीस घण्टा प्रहरी विभिन्न समूहले झा दम्पतीको घरको चौकीदारी गरिरहेका छन् । प्रहर नभनी उनको खोजीका लागि प्रहरी भौँतारिरहेका छन् ।

मोही जग्गासम्बन्धी मुद्दामा साक्षी गवाही रहेको कारण उनीहरूको हत्या गरी शव बेपत्ता पारिएको स्थानीय बासिन्दाहरूले आँकलन गरिरहेका छन् । प्रहरीले उनीहरूको अवस्थाबारे अनुसन्धानका लागि अहिलेसम्म करीब चार दर्जन व्यक्तिलाई ल्याइसकेको र आवश्यक सोधपुछ गरिसक्दा पनि वृद्ध दम्पतीबारे कुनै सुराकी नलागेको प्रहरीको भनाइ छ ।

यता अझै पनि जिल्ला प्रहरी र मातहतका प्रहरी एकाइ र प्रदेश प्रहरीबाट बेपत्ता वृद्ध दम्पतीको खोजतलाश व्यापकरुपमा भइरहेको भने घटनाबारे थप अनुसन्धानसमेत भइरहेको प्रहरीले जनाएको छ । यता परिवारजन र गाउँले छिमेकी विगत १८ दिनदेखि जिल्ला प्रशासन कार्यालय अगाडि धर्नासमेत दिँदै आएका छन् । प्रदेशको अस्थायी राजधानी जनकपुर तथा देशको राजधानी काठमाडौंको माइतीघरमण्डलामा झा दम्पतीको खोजीको माग गर्दै प्रदर्शनसमेत गरिसकेको छ ।

पीडित परिवार र बाह्मण समाजले जनकपुरमा रिले अनशन पनि गरिरहेको अवस्था छ । यसले पनि कुनै परिणाम नल्याए आमरण अनशन र अन्य चर्को आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन् । घरका अभिभावक दम्पती नै बेपत्ता हुँदा झा दम्पतीको घरमा चुलो बल्न छाडेको छ भने परिवारजन गहिरो चिन्तामा परेका छन् ।

प्रतिक्रिया