‘लप्पन छप्पन २’ को ट्रेलर

काठमाडौं । मुकुन्द भट्टले निर्देशन गरेको चलचित्र ‘लप्पन छप्पन २’ को ट्रेलर सार्वजनिक भएको छ । बिहीबार राजधानीमा पत्रकार सम्मेलन गर्दै चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । खिलेन्द्रराज तिमसिनाको प्रस्तुतिमा निर्माण गरिएको यो चलचित्रमा समीर खरेल क्रियटिभ निर्माता रहेका छन् ।
पैसा र शक्तिको विषयमा केन्द्रित रहेको चलचित्रमा अभिनेता शिव श्रेष्ठ, सौगात मल्ल, अर्पण थापा, दीपक क्षेत्री, अनुपविक्रम शाही, गोविन्द शाही, प्रकाश कुँवर लगायतका कलाकारको प्रमुख भूमिका छ । चलचित्रमा पटकथा निर्देशक भट्ट, सुनिल नेउरे र अमित शर्माले संयुक्त रूपमा लेखेका हुन् । पुरुषोत्तम प्रधानको छायांकन, मिलन श्रेष्ठको सम्पादन रहेको चलचित्रमा हिमाल केसीले द्वन्द्व निर्देशन गरेका छन् ।
द्वन्द्वप्रधान यस चलचित्रमा पैसा र शक्तिको भिडन्तलाई देखाइएको छ । सार्वजनिक टे«लरमा नेपालको राजनीतिमा हुने विदेशी शक्ति र पैसाको चलखेललाई प्रस्तुत गरिएको छ । पैसाबाट मान, प्रतिष्ठा र शक्ति आर्जन गर्न सकिन्छ भन्ने मानसिकतालाई चलचित्रमा उधिनिएको छ । समाजमा पैसाका लागि जे पनि गर्न खोज्ने चरित्रका विविध आयाम र पक्षलाई चलचित्रमा देख्न सकिन्छ । तीन करोडभन्दा बढीको लगानी रहेको यस चलचित्रलाई चार वटा युरोपका देश, अष्ट्रेलिया र नेपालमा छायांकन गरिएको निर्माण पक्षले जनाएको छ । चलचित्र नेपालीसँगै चाइनिज, हिन्दी, तमिल, भोजपुरी र तेलुगु गरी ६ भाषामा सार्वजनिक गरिने बताइएको छ । २७ चैतबाट यो चलचित्र देशव्यापी प्रदर्शनमा आउने तयारीमा रहेको निर्माण पक्षले जानकारी दिएको छ ।

प्रतिक्रिया