बर्दियामा फेरि बाघको आक्रमणबाट २७ वर्षीया महिलाको मृत्यु

काठमाडौं । बर्दियामा फेरि बाघको आक्रमणबाट एक २७ वर्षीया महिला रिना सुनारको मृत्यु भएको छ । आज (बुधबार) बर्दियाको मधुवन नगरपालिका– ३ को कोठियाघाट र सम्झना सामुदायिक वनभित्र घाँस काट्न गएकी मधुवन ३ कोठियाघाट बजारकी एक महिलालाई बाघले आक्रमण गरेपछि मृत्यु भएको बताइएको छ ।

आज दिउँसो करिव २ बजेको समयमा समूहमा घाँस काट्न गएका बेला पाटेबाघले सुनारलाई आक्रमण गरेको हो । यसअघि गत फागुन १७ गते पनि बर्दियाको गेरुवामा पाटेबाघले भैंसी चराउन गएका ६५ वर्षीय एक पुरुषलाई आक्रमण गरेर मृत्यु भएको थियो ।

यो घटनासँगै बर्दियामा यस वर्ष बाघको आक्रमणबाट ८ जनाले ज्यान गुमाइसकेका छन् । पछिल्लो समय बर्दियाका बाघ आक्रमणका घटना बढ्न थालेपछि स्थानीयबासी थप त्रसित बनेका छन् ।

बाघ आक्रमणका घटना दिनहु बढिरहेकाले बर्दिया राष्ट्रिय निकुञ्ज तथा डिभिजन वन कार्यलयले सूचना जारी गरेर निकुञ्ज तथा डिभिजन वन र सामुदायिक वनमा गाइभैसी चराउन तथा घाँस दाउरा लिन नजान पटक–पटक आग्रह गरिरहेको जनाएको छ।

प्रतिक्रिया