स्याङ्जा । स्याङ्जाको भिरकोट नगरपालिका–१, स्थित हेलुमा रहेको कालिका सामुदायिक अस्पतालमा लापरवाही भएको भन्दै स्थानीयवासीले अस्पतालमा तालाबन्दी गरेका छन् । अस्पतालको ड्युटीमा खटिने डा. लगायत स्वास्थ्यकर्मीले २४ सै घण्टा सेवा प्रवाह गर्नुपर्ने भए पनि समयमा सेवा प्रवाह नभएको कारण एक बच्चीको ज्यान गएपछि तालाबन्दी गरिएको हो । भीरकोट–७, तिलाहरका यामबहादुर खाम्चाकी पाँच महिने छोरी लोककुमारी खाम्चाको विरामीपश्चात उपचारका लागि बिहीबार बिहान ५ बजे अस्पताल ल्याइएको थियो ।
अस्पतालले उपचारमा ध्यान नदिएको र एक घण्टासम्म स्वास्थ्यकर्मी खोज्न समय लागेको कारण बच्चीको निधन भएको आरोप परिवारले लगाएको छ । ०६३ सालमा १ हजार २ सय जना स्थानीयवासीको जनश्रमदान र आर्थिक सहयोगमा स्थापना गरिएको यो अस्पतालमा स्रोत साधन भए पनि कर्मचारीलाई तलब दिने निकाय नहुँदा सामान्य सेवा पनि प्रदान गर्न नसकिएको स्वास्थ्यकर्मीको भनाइ छ । अस्पतालका लेखापाल अर्जुन खनाल भन्छन्, ‘दुई वर्ष भयो मैले पनि तलब खाएको छैन । तलब नखाने स्वास्थ्यकर्मी सात जना छन् । धेरैले तलब नपाएकै कारण जागिर छाडे ।’
५० शय्याको यो अस्पतालमा स्वास्थ्यकर्मी र उपकरण भए पनि समितिको लापरवाहीका कारण सेवा प्रवाह हुन नसकेको अस्पतालमा कार्यरत स्टाफ नर्स श्रीसा श्रेष्ठले बताइन् । श्रेष्ठ भन्छिन्, ‘हाम्रो समितिले राम्रोसँग व्यवस्थापन गर्न नसक्दा लापरबाही बढेको छ । सेवा सुविधा छैन । काम गर्ने जाँगर कसरी आउँछ । एक्स–रे सेवा बन्द भएको तीन महिना भयो ।’ नाम अस्पताल भए पनि काम भने लापरबाही हुँदा जनताले सास्ती पाउने कहिलेसम्म सरोकारवाला निकायले ध्यान दिन जरुरी छ ।
स्याङ्जा
प्रतिक्रिया