पोखरामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, सात घाइते

कास्की । कास्कीमा जीप पल्टिँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य सात जना घाइते भएका छन्। पोखरा-बाग्लङ राजमार्गमा पर्ने पोखरा–२५ याम्दीमा हेमजाबाट पोखराबजारतर्फ आउँदै गरेको बा२च ७४१० नम्बरको जीप दुर्घटनामा परेको हो।

दुर्घटनामा पोखरा महानगरपालिका-१० बस्ने ५० वर्षीय प्रकाश पुन र ५२ वर्षीय चित्र पुनको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका पुनद्वयको उपचारका क्रममा राति नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त प्रवक्ता एवं प्रहरी निरीक्षक दीपक केसीले जानकारी दिए।

प्रकाशको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र चित्रको मणिपाल अस्पतालमा मृत्यु भएको हो। जीपमा नौ जना सवार थिए। घाइते सात जनाको हाल सहारा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। जीप सडकबाट अन्दाजी २५ मिटर तल खसेको छ। दुर्घटनाको कारण नखुले पनि तीव्र गतिको कारण दुर्घटना भएको अनुमान गरिएको छ। रासस

प्रतिक्रिया