कर्णालीको पीडा बन्दै प्राकृतिक विपत

कर्णाली । प्राकृतिक विपत्तीबाट यस वर्ष कर्णालीमा ठूलो क्षति पुगेको छ । बाढी, पहिरो, चट्याङ, हावाहुरी र आगलागी जस्ता प्राकृतिक विपत्बाट चालू आर्थिक वर्ष २०७७/७८ को पहिलो चौमासिकमा ठूलो धनजनको क्षति भएको हो । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार साउन, भदौ, असोज र कात्तिक महिनामा बाढी, पहिरो, हावाहुरी र आगलागीबाट गरी रु १८ करोड २५ लाख बराबर धनजनको क्षति भएको छ । विपतबाट साउन महिनामा रु आठ करोड ४९ लाख तीन हजार ६८४ बराबरका धनजनको क्षति भएको कर्णाली प्रदेश प्रहरी कार्यालय, सुर्खेतका सहप्रवक्ता एवं प्रहरी उपरीक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिए ।

प्रदेश प्रहरी कार्यालय सुर्खेतले दिएको जानकारीअनुसार कर्णालीमा सबैभन्दा बढी क्षति पहिरो, आगलागी र बाढीबाट भएको छ । चालू आवको चार महिनाको अवधिमा पहिरोबाट रु १० करोड ६० लाख ५१ हजार २८४, आगलागीबाट रु चार करोड ३७ लाख ९१ हजार ६३९ र बाढीबाट रु एक करोड ८२ लाख ९१ हजार ९३१ बराबर जनधनको क्षति भएको छ ।

हावाहुरीले भने यस प्रदेशमा रु आठ लाख र चट्याङले सबैभन्दा कम रु एक लाख दुई हजार ६०० बराबर जनधनको क्षति भएको प्रदेश प्रहरी कार्यालयको अभिलेखमा छ । त्यस्तै प्राकृतिक विपत्तीले कर्णाली प्रदेशका १० जिल्लामध्ये सबैभन्दा बढी हुम्ला जिल्लामा क्षति पुर्याएको छ । पहिरो र आगलागीका कारण हुम्लामा रु पाँच करोड ४४ लाख ९४ हजार १६० बराबर धनजनको क्षति भएको प्रहरी उपरीक्षक श्रेष्ठले बताए । सुर्खेत भने बाढी र आगलागीको चपेटामा परेको छ ।

बाढी, पहिरो, आगलागी हावाहुरी, चट्याङजस्ता विपत्तीबाट जाजरकोटले रु एक करोड ९३ लाख सात हजार २५०, जुम्लाले रु एक करोड ४० लाख ५८ हजार १००, कालीकोटले रु ७८ लाख ३६ हजार ४३४, सल्यानले रु ३२ लाख ८२ हजार १३१, मुगुले रु २९ लाख ४२ हजार २०० र सबैभन्दा कम डोल्पाले रु १७ लाख ४२ हजार २०० बराबरको जनधनको क्षति व्यहोरेको छन् ।

साउनमा २२ वटा विपत्तीका घटना हुँदा ३७६ घर क्षति भएका छन् । त्यसबाट १९ महिला र १८ पुरुष गरी ३७ जनाको मृत्यु, पाँच जना बेपत्ता, ३१ घाइते, एक हजार ४१३ परिवार विस्थापित र २१२ पशुचौपायाको मृत्यु भएको छ । भदौमा २१ विपत्तीका घटनाबाट ३४३ घर क्षति, १४ पुरुष र छ महिला गरी २० जनाको मृत्यु, चार बेपत्ता, १७ घाइते, ५८८ परिवार विस्थापित र ३०३ पशुचौपायाको मृत्यु भएको जनाइएको छ ।

त्यस्तै असोजमा १३ विपत्तीका घटना घट्दा एक जना घाइते, ४५ परिवार विस्थापित तथा कात्तिकमा छ विपत्तीका घटनाबाट १६ घर क्षति, दुई महिला एक पुरुष गरी तीन जना मान्छे र तीन पशु चौपायाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । पहिरो, बाढी र आगलागीका कारण कालीकोटले सबैभन्दा बढी मानवीय क्षति भोग्नुप¥यो ।

यो चार महिनाको अवधिमा विपत्तीका कारण कालीकोट जिल्लामा २३ महिला र २१ पुरुष गरी ४४ जनाले ज्यान गुमाए भने सात जना अझै बेपत्ता रहेका छन् । भूगर्भविद्हरुले यसअघिदेखि नै कर्णाली तथा तिला नदी किनारमा रहेका बस्ती उठाएर सहजमा ठाउँमा व्यवस्थापन गर्नुपर्ने अन्यथा ठूला घटना घट्ने चेतावनी दिँदै आएका छन् । प्रदेश प्रहरी कार्यालयको यस वर्षको तथ्यांकले जुम्ला कर्णाली प्रदेशमै हावाहुरी, हिमपहिरो, बाढी र पहिराको जोखिममुक्त जिल्लाका रुपमा देखिएका छ । आगलागीका घटना भने जुम्लामा पटकपटक हुँदै आएका छन् । डोल्पा जिल्ला पहिरोबाहेक अन्य जोखिममुक्त नै रहेको पाइएको छ ।

प्रतिक्रिया