मार्तडी । मौसम बदलीसँगै जिल्लाको हिमाली भेगमा हिमपात भएपछि वन्यजन्तुको चोरी सिकारी बढ्न थालेको छ । यहाँका लेकाली क्षेत्रमा वन्यजन्तुको चोरी सिकारी बढ्न थालेको डिभिजन वन कार्यालय बाजुराले जनाएको छ । भौगोलिक विकटताका कारण वन्यजन्तु मात्र नभई जडीबुटीसमेत चोरी निकासी हुने गरेको डिभिजन वन कार्यालय बाजुराका डिभिजलन प्रमुख कामु कालीराम चौधरीले बताएका छन् । उनका अनुसार डिभिजन वन कार्यालयमा कर्मचारी अभावका कारण वन्यजन्तु चोरी सिकारी र जडीबुटीको अवैध निकासीलाई नियन्त्रण गर्न सकस भएको छ ।
दुर्गम क्षेत्रमा रहेको हिमाली गाउँपालिकाको विच्छ्या, रुगिन, स्वामीकार्तिक गाउँपालिकाको जुकोट, साप्पाटा, जगन्नाथ गाउँपालिकाको गोत्री, जगन्नाथ र बुढीनन्दा नगरपालिकाको पाण्डुसैन कोल्टीको माथिल्लो क्षेत्रमा आवतजावत गर्न सकस भएकाले उक्त क्षेत्रबाट हुुने चोरी सिकारी तथा जडीबुटी निकासी गर्नेको निगरानी गर्न सम्भव नभएको डिभिजनल प्रमुख चौधरीले बताए ।
मौसम बदली भएसँगै जिल्लाका लेकाली भेगका उक्त क्षेत्रमा हिमपात भएकाले वन्यजन्तु चिसोबाट बच्न बेँसी आउने भएकाले विभिन्न प्रजातिका जनावरको सिकारी बढ्न थालेको प्रमुख चौधरीको भनाइ छ । पुस र माघ महिनाको अवधिमा जंगली जनावर मृग, हरिण, चित्तल, बँदेल, कालीज, डाँफे लगायतका वन्यजन्तुको चोरी सिकारी हुने भएकाले सुरक्षा निकायसँगको सहकार्य र समन्वयमा नियन्त्रणको प्रयास गर्ने डिभिजन वन कार्यालयका सहायक वन अधिकृत तथा सूचना अधिकारी राजन कुँवरले जानकारी दिएका छन् ।
उनका अनुसार वन कार्यालयका कर्मचारीको सक्रियतामा ६ सुरक्षाकर्मी परिचालन गरी वन्यजन्तु चोरी सिकारीलाई रोक्ने प्रयास गरिनेछ । जिल्लाका सामुदायिक वनका उपभोक्ता समितिलाई सचेत बनाई अवैधरूपमा हुने जडीबुटी निकासी तथा पैठारी र वन्यजन्तुको चोरी सिकारीलाई न्यूनीकरण गर्न जोड दिएको उनले बताएका छन् ।
जिल्ला सदरमुकाम मार्तडीमा समेत जंगली जनावरको सिकार गरी बिक्री वितरण भइरहेको जनगुनासो आउन थालेकाले त्यसको निगरानी बढाउन वन कार्यालयले तयारी थालेको प्रमुख चौधरी बताउँछन् । वन्यजन्तुको सिकारभन्दा उनीहरूलाई संरक्षण गर्न सबैको ध्यान जान जरुरी रहेको छ । जिल्लामा पछिल्लो समयमा सामुदायिक वनमा स्थानीयवासीले आगो लगाउने गरेकाले सो कार्य रोक्न चौधरीले स्थानीयवासीलाई आग्रह गरेका छन् ।
प्रतिक्रिया