पर्वत । कोरोना भाइरसबाट आक्रान्त भइरहेका बेला पर्वतमा महिलामाथि हिंसाका घटना दिनप्रतिदिन बढ्दै गएका छन् । अमानवीय र पाशविक घटना छताछुल्ल भएका छन् । बालबालिका एवं महिलामाथिको हिंसालाई मानवअधिकारको मुद्दाका रूपमा सम्बोधन गर्न नसकिएका कारण पर्वतमा अघिल्लो वर्षको तुलनामा यो वर्ष बलात्कार तथा यौन दुव्र्यवहारका घटनामा वृद्धि भएका हुन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक पर्वतले सार्वजनिक गरेको तथ्यांकअनुसार बाल यौन दुराचारका घटनामा उल्लेखनीय वृद्धि भएका छन् ।
सन् २०२० को जनबरीदेखि डिसेम्बरसम्मको तथ्यांकअनुसार पर्वतमा बालयौन दुराचारका घटना मात्रै ११ वटा रहेका छन् । तीमध्ये पाँच बालिका यौन दुव्र्यवहारबाट पीडित भएका छन् भने ६ बालिका बलात्कार घटनाबाट पीडित भएका हुन् । अघिल्लो अंग्रेजी वर्ष २०१९ को संकलित तथ्यांकअनुसार बालयौन दुव्र्यवहारका घटना सात, महिला बलात्कारका घटना चार, हत्याका दुई, बम विष्फोट एक, घरेलु हिंसाका १० र भौतिक सम्पत्ति क्षतिको एक गरी २९ ओटा घटना अभिलेख गरिएको थियो ।
यो अंग्रेजी वर्षमा बालयौन दुव्र्यवहारका पाँच, बालिका बलात्कारका ६, महिला बलात्कारका एक, घरेलु हिंसाका १६, परिवारका सदस्यबाट हत्या एक, गैर न्यायिक गिरफ्तार चार र आत्महत्या दुरुत्सहानको एउटा घटना सार्वजनिक गरेको छ । पर्वतको विहादी गाउँपालिकाका विभिन्न वडामा आफ्नै बाबुबाट तीन बालिका पीडित बनेका छन् । ०७६ पुसदेखि ०७७ पुस सम्मको इन्सेकको तथ्यांकअनुसार तीन वर्षीया बालिकादेखि १९ वर्षीया बालिकासम्म जन्मदिने बाबुबाट पीडित बनेका हुन् ।
प्रतिक्रिया