विराटनगर । मोरङको विराटनगरस्थित कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राख्दा समस्या देखिएको छ । महिला ५० जना र पुरुष २ सय ५० जना गरी कुल तीन सय जना बन्दी अट्ने क्षमता रहेको सो कारागारमा अहिले पुरुष ८ सय ३२ जना, महिला ८४ जना र नाबालक दुई गरी ९ सय १८ जना रहेका छन् । कारागाराका नायब सुब्बा रामप्रसाद पोखरेलले कारागारमा कैदीको चाप रहे पनि कारागारामा कोभिड–१९ को कारण कसैको ज्यान नगएको जानकारी दिए । उनका अनुसार आमासँगै आश्रित नाबालक बढीमा तीन वर्षसम्म मात्र बस्न पाउँछन् ।
कारागारमा कैदीबन्दीले सिदाको रूपमा दैनिक एक जनाले ६० रुपैयाँ र सात सय ग्राम चामल सरकारबाट प्राप्त गर्दै आएका छन् । यसैगरी दसैँ खर्च तीन सय, जाडोको लुगा खरिद गर्न १ हजार ५ सय २५, गर्मीको लुगाको लागि १ हजार ४ सय अतिरिक्त प्रत्येक दुई वर्षमा सिरक डस्नासमेत कैदीलाई दिने गरिएको छ ।
कारागारमा बस्दै आएका कैदीमा जाडो र गर्मी मौसममा शरीर चिलाउने, हातखुट्टा सुनिने, छालामा विभिन्न खालका समस्या देखिने जनाइएको छ । दैनिक ६ जनादेखि आठ जना कैदी बिरामी हुने गरेका छन् भने उनीहरूको स्वास्थ्य उपचारका लागि कोसी अस्पताल विराटनगरमा लैजाने गरिएको कारागार प्रशासनले जनाएको छ ।
कारागारमा कैदी जीवन बिताउने बन्दीहरूको थप आयआर्जनका लागि उनीहरूले मुढा र टोपी तथा सामान्य किसिमको काठका सामान पनि बनाउने गरेको र सो बिक्री भएमा उनीहरूले थप आयआर्जन गर्ने गरेको बताइएको छ । महिला कैदीलाई सीपको विकास गर्न उनीहरूलाई कारागार प्रशासनले सिलाइकटाइ, ब्युटीपार्लर तालिम दिनुका साथै सिलाइकटाइ तालिममा सहयोग पुग्ने उद्देश्यले अहिले पाँच थान सिलाई मेसिन पनि उपलब्ध गराइएको छ ।
कारागार प्रशासनका अनुसार जोश र जाँगर भएका धेरै बन्दी सीप विकासमा ध्यान दिने गरेको पाइएको छ भने कतिपयले निराश भएर फुर्सदिलो जीवन बिताइरहेका छन् । सरकारले उपलब्ध गराइरहेको सिदा र रकमले बन्दीको दिनचर्यामा नपुग्ने भएकोले नै उनीहरू मिहिनेत गर्न चाहेको र यसबाट उनीहरूले अतिरिक्त आम्दानी गर्न सफल भएका छन् ।
कारागारमा रहेका बन्दीमध्ये आर्थिक रूपले सक्षम व्यक्तिहरू निजी अस्पतालमा गएर उपचार गराउने गरेका छन् । कारागार प्रशासनले सानो ठाउँमा धेरै बन्दी राख्दा जोखिम रहने र उनीहरूको उचित व्यवस्थापनमा समेत समस्या आएको जनाएको छ ।
प्रतिक्रिया