पाँचथरमा ट्याक्सी दुर्घटना, आठ जना घाइते

पाँचथर । फिदिम नगरपालिका–३ लालीखर्कमा ट्याक्सी दुर्घटना हुँदा आठ जना घाइते भएका छन् । फालेलुङ गाउँपालिका–२ बाट झापाको बिर्तामोडतर्फ जाँदै गरेको मे १ ज २४७७ नम्बरको ट्याक्सी आज सडकबाट झरेर दुर्घटना भएको हो ।

दुर्घटनामा फालेलुङ–२ का सुविन अधिकारी, सुविक्षा पौडेल, सुजाता पौडेल, रवीन अधिकारी र कविता चापागाईं तथा झापाको बिर्तामोडमा रामचन्द्र उप्रेती, उर्लाबारी मोरङका सागरचन्द्र सापकोटा र टगोमादेवी सापकोटा घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको र उपचारको लागि झापाको बिर्तामोड पठाइएको छ । बाँकी सात जनाको फिदिमस्थित अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाको कारण खुल्न नसकेको तर, सडकमा शीत परेर चिप्लो हुने हुनाले सोही कारण दुर्घटना भएको अनुमान गरिएको छ ।

प्रतिक्रिया