कोभिड प्रभावित कृषकलाई कृषि औजार

स्याङ्जा । स्याङ्जा जिल्ला सुन्तलाको उर्वर भूमि हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुपर जोनअन्तर्गत करिब १३ सय हेक्टर जमिनमा सुन्तला उत्पादन भएको छ । तर यी बाहेकका करिव १२ सय हेक्टर जमिनमा उत्पादन हुने सुन्तला कृषकलाई प्राविधिक तथा औजार सहयोग खासै हुँदैन ।  यही समस्यालाई मध्यनजर गर्दै वालिङ नगरपालिका भित्रका सुन्तला तथा कागती खेती गर्दै आएका कृषि सहकारीलाई कृषि औजार वितरण गरिएको छ । उत्पादित बस्तुलाई सुरक्षित तरिकाले टिप्न, कटानी छटानी, गोडमेल गर्नका लागि कृषि औजार वितरण गरिएको हो । वालिङ नगरपालिका र युनडिपीको आर्थिक सहयोग तथा दियालो संस्थाको व्यवस्थापनमा ‘कोभिड–१९ उद्धार सामाजिक आर्थिक प्रतिकार्य परियोजना’ अन्तर्गत ३० वटा सहकारीलाई औजार वितरण गरिएको दियालो संस्थाका अध्यक्ष कविता गैह्रेले बताइन् । उनले भनिन्, ‘विश्वमहामारी कोभिडसँग थला परेका कृषकलाई उत्पादनसँग जोड्दै उनीहरूको जीवनस्तर माथि उकास्ने हाम्रो लक्ष्य हो ।’

नगरपालिका भित्रका सुन्तला तथा कागती कृषकले हातले सुन्तला टिप्दा छिटो कुहिने, सुन्तलाको भेट्ना बोटमै रहनेजस्तो समस्या निराकरण गर्ने उद्देश्यले विभिन्न ३० समूह तथा सहकारीलाई भ¥याङ, सिकेचर र करौैती वितरण गरिएको हो । कृषि तथा पशुजन्य बस्तुको उत्पादनमा वृद्धि गर्न कृषकलाई प्रोत्साहन स्वरूप बजारको ग्यारेन्टी नगरपालिकाले गरिदिने नगरप्रमुख दिलीप प्रताप खाँणले बताए । नगरप्रमुख खाँण भन्छन्, ‘कृषि क्षेत्रमा उत्पादन सकेको गर्नुहोस् । बजारको जिम्मा हामी लिन्छौँ ।’ सहकारीमार्फत वालिङ नगरले बिक्री नभएका कृषि तथा पशुजन्य बस्तुसमेत खरिद गर्ने बताउँदै कृषकलाई औजार तथा प्राविधिक सहयोग गर्न पालिका तयार रहेको बताए । प्रत्येक वर्ष जिल्लाबाट करोडौंको संख्यामा सुन्तलाको निर्यात हुने भए पनि तथ्यांकको अभावमा पालिकाभित्र कति उत्पादन हुन्छ र कति आम्दानी हुन्छ भन्ने यकिन गर्न सकिँदैन । राज्य पुनसंरचनासँगै कृषि ज्ञान केन्द्र र स्थानीय तहको कृषि शाखासँग तथ्यांक अध्यावधिक हुनसके उत्पादन र उत्पादकत्वसमेत पहिचान गर्न सकिने थियो ।

सुशील सुवेदी

स्याङ्जा

प्रतिक्रिया