स्याङ्जा । गण्डकी प्रदेश विधायन समितिका सभापति मोहन रेग्मीले प्रदेश सरकार तीन खम्बे अर्थनीतिलाई आत्मसाथ गर्दै अघि बढेको बताएका छन् । वालिङस्थित उपकार वचत तथा ऋण सहकारी संस्थाको २८औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै सभापति रेग्मीले सरकारी, सहकारी र नीजि क्षेत्रको पुँजीलाई एकीकृत गर्दै जनताले चाहेको विकास र समृद्धिलाई प्राप्ती गर्न प्रदेश सरकारले आधार तयार गरेको बताए । सहकारीमार्फत जनताको मुहारमा हाँसो छर्ने अभियान स्वरूप प्रदेश सरकारले सहकारी ऐन निर्माण गरिएको बताउँदै रेग्मीले भने, ‘जनताले अपेक्षा गरेको संघीय लोकतान्त्रिक नेपालकोे सुखी नेपाली र समृद्ध राष्ट्र बन्नका लागि हरेक नेपालीको अनुहार हँसिलो र खुसी देख्न चाहान्छौँ, त्यो आर्थिक समृद्धिको बाटोमा अगाडि जानसके मात्र पूरा हुन्छ ।’
सहकारीको माध्यमबाट कृषिमा लगानी गर्ने अभियानमा आफू रहेको बताउँदै सभापति रेग्मीले सहकारीको माध्यमबाट गाउँका जनताहरूलाई आर्थिक समृद्धिको बाटोमा अगाडि बढाउने बताए । ०५० सालमा स्थापना भएको सहकारीले प्रधान कार्यालय वालिङमा शनिबार वार्षिक साधारणसभा सम्पन्न गरेको हो । वालिङ–८ मा सुविधा सम्पन्न आप्mनै भवनमा प्रधान कार्यालय रहेको सहकारीले वालिङ बजार, बायँटारी, कालीगण्डकी गाउँपालिकाको मिर्मी र चापाकोट नगरपालिकाको दामाचौरमा गरी चार वटा सेवाकेन्द्रका साथै वालिङ–७ केवरेमा सदस्य सम्पर्क कार्यालय सञ्चालन गरिसकेको छ । कोभिड–१९ को महामारीका कारण आप्mना सदस्यहरूको स्वास्थ्यको ख्याल गर्दै यही १ देखि १० पुससम्म सेयर सदस्यको घरघरमै पुगी राय संकलन गरेको सहकारीले सेवाकेन्द्रहरूबाट प्रतिनिधिमूलक उपस्थितिमा साधारणसभा सम्पन्न गरेको हो ।
प्रतिक्रिया