चिसो बढेसँगै जनजीवन कष्टकर

कर्णाली । चिसो बढ्दै गएपछि विशेषगरी जुम्ला, मुगु, हुम्ला र डोल्पाका नागरिकको जनजीवन कष्टकर बन्दै गएको छ । कालीकोट, जाजरकोट र रुकुमपश्चिमका उत्तरी भेकमा बसोवास गर्दै आएका नागरिकसमेत चिसोले प्रभावित बनेका छन् ।  जुम्लाको न्यूनतम तापक्रम यतिबेला माइनस सात डिग्री सेल्सियसको हाराहारीमा झरेको छ । जाडो बढे पनि कर्णालीका कुनै जिल्लामा वर्षा तथा हिमपात नभएको हावापानी फिल्ड कार्यालय जुम्लाका प्रमुख आशामपुरा कार्कीले जानकारी दिए । ‘चिसो बढ्नेक्रम जारी छ’, प्रमुख कार्कीले भने, ‘हिमपात भने नभए पनि यहाँका नागरिकको जनजीवन निकै कष्टकर बन्दै गएको छ ।’ कठ्याउने जाडो नघट्दासम्म हिमाली बासिन्दाको बिहान र बेलुकाको दैनिकी अझ बढी कठिन हुने कार्यालय प्रमुख कार्कीले बताए ।

जाडो बढ्दै जाँदा खानेपानीका धारामा बरफ जमेर पानी आउन छोडेको छ । मोटरसाइकल गाडीमा पेट्रोल, डिजेल जम्दा सञ्चालमा ल्याउन सकस भएको छ । यसले गर्दा यातायात व्यवसायीलाई पनि सेवा प्रवाह गर्न गाह्रो भएको यातायात व्यवसायी ज्वारीलाल भट्टराईले बताए । शौचालयका धारा बन्द भएपछि नागरिकलाई शौच गर्नसमेत कठिनाइ भएको छ ।

चिसोले पानीका पाइप फुट्न थालेका छन् । मुख्यतयाः मानव जीवनका लागि दैनिकरूपमा नभई नहुने पिउने पानी आउन छोडेपछि यहाँका नागरिकले सास्ती खेप्नुपरेको खलंगा खानेपानी उपभोक्ता समितिका अध्यक्ष पन्नाबहादुर रोकायले जानकारी दिए । ‘हाम्रो काम उपभोक्ताको धारामा पानी पठाइदिने हो । पाइप भाँचिए टुटेफुटको अवस्थामा मर्मत गरी पानी पठाएकै छौँ’, अध्यक्ष रोकायले भने, ‘बरफ बनेर बन्द भई धारामा पानी नआउनु प्रकृतिले प्रकोप हो । यसमा हामीले के नै गर्न सक्छौँ र ?’ करीब दुई हजार उपभोक्तामार्फत २२ हजारभन्दा बढी नागरिकलाई खानेपानी सेवा दिइरहेको उनको भनाइ थियो ।

त्यति मात्र होइन, घरमा राखिएका ग्यास सिलिन्डर पनि जम्न थालेको चन्दननाथ नगरपालिका–६ जुम्लाका स्थानीय पदमलाल महतले जानकारी दिए । ‘गाउँका वासिन्दा दाउरा बाल्ने भएकाले केही सहज भए पनि बजारमा बस्नेलाई अहिले निकै गाह्रो भइरहेको छ’, महतले भने, ‘जमेको धारामा तातोपानी खन्यायो भन्ने बरफ पग्लिएर पानी आउँथ्यो तर दाउरा छोडेर बाल्दै आएका सिलिन्डर ग्याससमेत जमेपछि झन ठूलो समस्या निम्तिएको छ ।’

धारामा बरफ जम्दा घरमा न पानी छ न त आगो बाल्ने दाउरा छ । सिलिन्डर ग्यासको विकल्पमा दाउरा खोज्नुपर्ने बाध्यता आइलागेको छ । धारा र पाइपमा बरफ जमेपछि स्थानीयवासी पानी जोहोका लागि प्राकृतिक मूल खोजी गर्न थालेका छन् । ‘जमेको पानी पग्लाउन आगो बालेर पानी तताउनु हुन्थ्यो तर धाराबाटै पानी खस्न छोडेपछि के तताउने ? स्थानीयवासी सविना शाहीले भनिन्, ‘तताउनका लागि दाउरा छैन । सिलिन्डरको ग्यास पनि जमेको छ ।’

मूलमा पानी नजम्ने भएकाले त्यस्ता स्रोत नजिक भएका गाउँलाई सजिलो भएको शाहीले जनाए । उनले भनिन्, ‘घरमा पानी नआउँदा मूल नजिकै बनाइएका परम्परागत काठ तथा ढुंगेधारा धाउनुपरेको छ । मेलापात, धारा पानी पँधेरामा महिला सहभागी हुने भएकाले यसको बढी संकट पनि महिलाले नै भोग्दै आएका छन् ।’

चिसोले विपन्न, ज्येष्ठ नागरिक, बालबालिका, अपांगता भएका व्यक्ति र सुत्केरी बढी प्रभावित भएका छन् । यो समयमा दम, निमोनिया, रुघाखोकीका रोगी अस्पतालमा बढी आउने गरेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका डा.अर्जुनप्रसाद तिवारीले जानकारी दिए । ‘यतिबेला ज्येष्ठ नागरिक, दीर्घरोगी र बच्चा अस्पतालमा बढी आउने गरेका छन्’, डा. तिवारीले भने, ‘चिसोले अपरेसन थिएटरमा बेहोस बनाएर उठाउँदा अलि कठिनाइको महसुस हुन्छ । उनले यो समयमा सबैले आफूलाई न्यानोमा राख्न, झोलिलो चीज खान र ज्येष्ठ नागरिक र बालबालिकालाई बरफमा लड्नबाट जोगाउन सल्लाह दिएका छन् ।

प्रतिक्रिया