कर्णाली नदीमा जिप तारेर यातायात सेवा सुरु

बाजुरा । स्वामीकार्तिक खापर गाउँपालिकालाई जोड्ने पिलुचौरस्थित कर्णाली पुल वरपोर जम्मा भएका मानिसहरु देख्दा कुनै मेला लागेको जस्तो देखिन्थ्यो ।

विचमा निलै भएर बगिरहेको कर्णाली नदी, कर्णाली नदीका किनारा र पिलुचौरको झोलुङ्गे पुलमाथिबाट उत्सुकताका आँखाले हेरिरहेका स्थानियलाई हेर्दा कुनै मेलामौसरको छनक दिईरहेको थियो । शनिवार पहिलो पटक जिल्लाकै दुर्गम तथा कर्णाली पारीको स्थानिय तहमा जिप सञ्चालनका लागि कर्णाली नदीमा जिप तार्ने काम भइरहेको रहेछ ।

जिप तार्नका लागि गाउँपालिकाका अध्यक्ष चिरन्जीवी शाही बिहानैबाट खटिएका थिए । जब जिपलाई कर्णाली नदीमाथि विना पुल तराउन लागियो स्थानिय थप उत्सुक भए र हल्ला गर्न थाले । पेट्रोल, डिजेल राख्ने ड्रमहरु जोडेर नेपालकै लामो तथा तेस्रो ठूलो कर्णाली नदीबाट जोखिम मोलेर जिप तारिएको हो ।

बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका वडा नं २ बाहेक अन्य वडाका वडा कार्यालय सम्म बाटो निमार्ण भइसकेकाले गाउँपालिका भित्रका नागरिकलाई सहजताका लागि जोखिम मोलेर भएपनि यात्रुबहाक जिप तराइएको जिप मालिक रेखम शाहीले बताए ।

गाउँपालिकाका अध्यक्ष चिरन्जीवी शाहीले लकडाउनका कारण कर्णाली नदीमा फेरी निमार्ण कार्य पुरा नभएको, दुईवटा पुल निमार्ण हुने भनिए पनि अहिले सम्म ठेक्का बाहेक अन्य प्रक्रिया सुरु नभएको र बेलिविज्र निमार्णका लागि आवश्यक पहल भएकाले तत्काल गाउँपालिका भित्र यातायात सञ्चालनका लागि जोखिम मोलेरै भए पनि जिप तारिएको बताए ।

गाउँपालिकाका वडाहरु सडक सञ्जालमा जोड्ने क्रम जारी भएकाले हाल सडक सञ्जालमा जोडिएका वडामा आन्तरिक यातायात सञ्चालन गर्न गाउँपालिकाले पनि आवश्यक पहल गरेको गाउँपालिकाका सूचना अधिकारी कुमेर बहादुर शाहीले बताए ।

कर्णाली नदीबाट जिप तारेर गाउँपालिकामा पुर्याएपछि स्थानियबासीले खुशी व्यक्त गरेका छन् । सुदुरपश्चिम प्रदेश ००१ च २९४६ नम्वरको जिपलाई स्थानियवासीले भब्य स्वागत गरेका छन् । जिपलाई कर्णाली नदी तारिए पछि गाउँपालिकाका अध्यक्ष चिरन्जीवी शाहीले आफै चिप चलाएर सेवाको सुरुवात समेत गरे ।

उनले गाउँपालिकालाई पहिलो पटक साना यातायात सञ्चालनमा जोडेकोप्रति जिप मालिक रेखम बहादुर शाहीलाई धन्यवाद दिए । जिपलाई स्वागत गर्ने कार्यक्रममा गाउँपालिकाका अध्यक्ष शाही, वडा नं ३ का बुद्धिजिवी ध्वजबहादुर शाही, नैन ब. शाही, नेकपाका प्रदेश कमिटी सदश्य रंगमान शाही, वडाअध्यक्षहरु काशीराम कैला, जनक रोकाया, नेकपा जिल्ला कमिटी सचिवालय सदश्य मेघराज शाही, जिल्ला कमिटी सदश्य युवराज शाही लगायत स्थानिय वासीको उल्लेख्य उपस्थिति रहेको थियो ।

प्रतिक्रिया