काठमाडौं । लेखक राजु अधिकारीद्वारा लिखित कथा संग्रह ‘लावण्य देश’ बजारमा आएको छ । संग्रहमा लोभ, लालच र स्वार्थका विविध विषयमा केन्द्रित रही लेखिएका २१ वटा छोटा कथाहरु समेटिएका छन् । संग्रहको शीर्षकथा लावण्य देशमा शिव शर्मा ब्राह्मण लावण्य देशको भ्रमणमा निस्किएका हुन्छन् । तर त्यहाँका बासिन्दामा लोभ, लालच र स्वार्थमा आत्मकेन्द्रित भइसकेको विषयलाई कथाकारले निकै कलात्मक रुपमा उतारेका छन् ।
उक्त कथामा उनी आफैंले बनाएको नियमविपरीत उभिएर पनि ती मानिसमा सद्बुद्धि भर्न चाहन्छन् । जहाँ उनले आफूले चाहेजस्तो मान्छे बनाउन सकेनन् । ती मान्छे पूरै लोभ, लालच र स्वार्थको दलदलमा भासिइसकेका हुन्छन् । कथाकारले लावण्य देश भनेर बिम्बात्मक रुपमा नेपाललाई देखाउन खोजेको सहजै अनुमान लगाउन सकिन्छ । यस्तै अन्य कथामा सामाजिक विसंगति र विकृति लगायतका विषय रहेका छन् ।
कथाकारले कथालाई मासु, जनै, भाले, काम, बन्ध्याकरण, माछामाछा भ्यागुतो जस्ता छोटा र रोचक शीर्षकमार्फत छुट्टाएका छन् । त्यस्तै, रक्तक्रान्ति, सरकारी सुरक्षा गृह, न्याय हराएको सूचनाजस्ता राजनीतिक कथालाई समकालीन परिवेशसँग तुलना गरेर लेखिएको छ । कथाकार अधिकारीले कथामार्फत आफूले समकालीन समाजका सामाजिक। सांस्कृतिक, राजनीतिक तथा अन्य विविध पाटालाई उधिनेको बताए ।संग्रहमा नयाँ पुस्तामा देखिएको अन्योलता, पुस्तान्तरण, लैंगिक असमानता, सामाजिक तथा सांस्कृतिक विभेद लगायतका विषय रहेका कथा पनि छन् । १८४ पृष्ठको यो पुस्तक वि रिडले प्रकाशनमा ल्याएको हो ।
प्रतिक्रिया