खलंगा । झण्डै आधा महिनादेखि नियमित बिजुली आपूर्ति नभएपछि जुम्लावासी आन्दोलित भएका छन् । उनीहरूले तत्काल बिजुली नियमित आपूर्ति हुने व्यवस्था गर्न माग गरेका छन् । विद्युत् तथा सञ्चारसेवा आपूर्ति संघर्ष समिति जुम्लाले पत्रकारसम्मेलन गरी नियमित विद्युत् आपूर्तिको माग राख्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । समितिका संयोजक तथा नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महतले जुम्ला अन्धकार हुँदा पनि कसैको चासो नगएकोप्रति आक्रोश पोखे । उनले भने, ‘आधा महिनादेखि सदरमुकाममा बिजुली छैन, उपभोक्ताका आधारभूत आवश्यकता पूरा हुन सकेका छैनन् । बिजुली आपूर्तिका लागि न विद्युत् प्राधिकरण जिम्मेवार बनेको छ । न त यहाँका राजनीतिक दलका नेताको चासो नै गएको छ । बिजुली आपूर्ति प्रक्रिया अन्योलमा परेको छ ।’
समितिले अहिलेकै जेनेरेटरबाट विद्युत् आपूर्ति गर्नुपर्ने, राष्ट्यि प्रसारणलाइन ६ महिनाभित्र जडान गरी स्थायी रुपमा विद्युत् आपूर्ति गर्नुपर्ने, बोलपत्र आह्वान गरी जोडिएको मेसिनमा पटक–पटक खराबी देखिएकोले यथाशीघ्र छानबिन गर्नुपर्ने र छानबिन प्रतिवेदनका आधारमा ठेकेदारलाई कानूनी प्रक्रिया अगाडि बढाउनुपर्ने माग राखेको छ । जुम्लामा फोन र इमेलको क्षमता कमजोर हुँदा कार्यसम्पादन प्रभावित भएकाले नेपाल टेलिकम शाखा जुम्ला र सञ्चार मन्त्रालय समेतको ध्यानाकर्षण गर्ने संघर्ष समितिले जनाएको छ । तत्काल उज्यालोका लागि विद्युत् प्राधिकरण र सरकारको ध्यानाकर्षण हुन जरुरी रहेको नेपाल पत्रकार महासंघ जुम्ला शाखाका अध्यक्ष बरमबहादुर महतले बताए ।
घुघुती विद्युत् गृहमा मेसिन बिग्रिएपछि सदरमुकाम खलंगा बजारसहित सिंगो चन्दननाथ नगरपालिका दुई सातादेखि अन्धकार छ । वैकल्पिक व्यवस्थाका लागि ल्याइएको डिजेल प्लान्ट इन्धन अभावले थन्किएको छ । ०४० सालमा घुघुतीमा उत्पादित विद्युत गृहको मेसिन जीर्ण भएपछि चार वर्षअघि तत्कालीन जिल्ला विकास समितिले भारतीय दूतावासको २ करोड ६३ लाख बजेटबाट नयाँ मेसिन जडानको काम सुरु गरेको थियो ।
समितिको कार्यालय खारेज भएपछि निर्माणको काम धकेलियो । नयाँ मेसिन जडान गरेको एक वर्ष नपुग्दै पटकपटक बिग्रिने गरेपछि यहाँका नागरिकले अँध्यारो खेप्नुपरेको छ । विद्युत् प्राधिकरणको लापरवाहीले सदरमुकामवासी लामो समयदेखि अँध्यारोमा बस्नुपरेको स्थानीयवासी भक्त रोकायाले बताए । ‘भारतीय कम्पनीले गुणस्तरहीन र नक्कली मेसिन जडान गरेपछि हामीले दुःख पाइरहेका छौँ’, उनले भने । नयाँ मेसिन जडान भएपछि प्रत्येक महिना बिग्रिरहेको रोकायाले बताए ।
प्रतिक्रिया