निर्माण सुरु गरेको ३५ वर्ष बितिसक्दा पनि नबनेको विमानस्थल अब ७ महिनापछि बन्ने

सम्बन्धित तस्विर –ः तत्कालिन पर्यटनमन्त्री जिबन बहादुर शाहीले २०७३ साल माघ २९ मा पहिलोपटक परिक्षणको सुनथराली पुगेको विमान

कालीकोट । निर्माण सुरु गरेको ३५ वर्ष बितिसक्दा समेत कालिकोटको एकमात्र सुनथराली विमानस्थलको निर्माण कार्य सम्पन्न हुन सकेको छैन । राजनैतिक खिचातानिका कारण ३५ वर्ष बितिसक्दा पनि निर्माण सम्पन्न नभएको विमानस्थल यतिबेला निर्माण कार्य धमाधम भइरहेको छ ।

गाउँपालिकाका अध्यक्ष धिरबहादुर विष्टका अनुसार अहिले सडक गाउँपालिकासम्म पुगिसकेको छ । विमानस्थलका लागि पनि सडक मर्मत सुधारको कार्य भइरहेको छ । उनका अनुसार सुनथराली विमानस्थलमा हाल घेरबार, टावर, फिल्ड कालोपत्रे लगाएतका काम भरहेका छन् ।

अबको ६–७ महिनापछि कालिकोटबासीले जहाज चढ्न पाउने छन् । टावर, घेरवार,भवन, फिल्ड मर्मतका लागि २० करोड ६२ लाख रकम नागरिक उड्ययन मन्त्रालयबाट विनियोजित भई विमानस्थल निर्माणको काम भइरहेको छ ।

तत्कालिन पर्यटनमन्त्री जिवन बहादुर शाहीको पालामा २०७३ साल माघ २९ गते पहिलोपटक परिक्षणको लागि जहाज अवतरण गरेपनि त्यसपछि विमानस्थलको काम ठप्पै रोकिएको थियो । चुनावको बेलामा धेरै चर्चा पाउने विमानस्थलले चुनावपछि भने कसैको महत्व पाएको थिएन ।

तर, अब भने विमानस्थल बन्ने निश्चित भएको गाउँपालिकाका अध्यक्ष विष्टले जानकारी दिए । कालीकोटबाट निर्वाचित भएर मन्त्री पनि बने कसैको चासोको विषय रहेन सुनथराली हो । चुनावमा प्रतिवद्धता भुल्ने प्रवृत्तिले सुनथराली विमानस्थल अहिलेसम्म बन्न नसकेको स्थानीयले बताउँने गरेका छन् ।

०६४ सालभन्दा अगाडि भएका निर्वाचन र त्यसभन्दा पछि भएका निर्वाचनमा निर्वाचित जनप्रतिनिधिले आफ्नो भोट बैंक विमानस्थललाई बनाउने गरेको आरोप नागरिकले लगाउँने गरेका छन् ।

२०४२ सालमा शिलान्यास गरि निमार्ण थालिएको विमानस्थल २०७७ बित्न लाग्दा पनि नबनेपछि कालीकोटबासीलाई विमानस्थलको कुरा सुन्न पनि दिग्क लाग्ने गरेको छ । यसभन्दा पहिले २०७३ साल माघ २९ गते उक्त विमानस्थलमा सफल परीक्षण उडान गरिएको थियो ।

तत्कालीन पर्यटनमन्त्री जीवनबहादुर शाहीको पहलमा तारा एयरको जहाज सफल अवतरण गरिएको हो । गाँउपालिकाले वडा नं १ लालिघाटदेखि विमानस्थल सम्मको लागि २० किलोमिटर सडक निर्माण गरिसकेको छ ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया