गाउँपालिकाका वडाध्यक्ष मडैको निधन

बैतडी । सुर्नया गाउँपालिका–५ का वडाध्यक्ष केशव मडैको निधन भएको छ । उनको बिहीबार ७० वर्षको उमेरमा निधन भएको प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए ।

उनले भने, ‘बिहान घरमै रहेका बेला एक्कासी मुर्छा परेर ढलेपछि उनलाई उपचारको लागि जिल्ला अस्पताल बैतडीमा पुर्याएपछि दिउँसो ३ बजेतिर निधन भएको हो ।’

वडाध्यक्ष मडै लामो समयदेखि मधुमेह, उच्च रक्तचाप र कमलपित्तको बिरामी रहेको गाउँपालिकाका उपाध्यक्ष लीला विष्टले जानकारी दिए। वडाध्यक्ष मडैको तीन चार दिनदेखि नै स्वास्थ्यावस्था सामान्य नरहेको बुझिन आएको प्रहरी नायब उपरीक्षक अधिकारीले बताए ।

उनले भने, ‘शव परिवारको जिम्मा लगाइसकिएको छ, परिववार तथा आफन्तले कालगतिले नै उनको मृत्यु भएको भनेपछि शव परीक्षण नै गर्न नदिएर लगेका छन् ।’ मडै तत्कालीन नेकपा (एमाले) बाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।
पाटन नगरपालिका सिल

पाटन नगरपालिका क्षेत्र आजदेखि आगामी कात्तिक ३ गतेसम्म सिल गरिएको छ । नगरपालिकामा कार्यरत चार कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि सिल गरिएको प्रमुख प्रशासकीय अधिकृत नारायणदत्त पन्तले जानकारी दिनुए ।

नगरपालिकाभित्र समुदायस्तरमै कोरोना भाइरसका संक्रमित देखिन थालेपछि सिल गर्ने निर्णय भएको हो । नगरक्षेत्र सिल भएसँगै स्वास्थ्य र आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्द छन् ।

यसका साथै बजार, व्यवसाय, होटेल, विद्यालय, कार्यालय, संघसस्था, तालीम, गोष्ठी तथा सभा सम्मेलनमा पनि रोक लगाइएको छ । साथै कात्तिक ३ गतेसम्म आवतजावतमा समेत पूर्ण रुपमा रोक लगाइएको छ ।

प्रतिक्रिया