तालाबन्दीले लुम्बिनी नगरपालिकाको काम ठप्प

रुपन्देही । लुम्बिनी सांस्कृतिक नगरपालिकामा गरिएको तालाबन्दीका कारण कार्यालयको कामकाज रोकिएको छ । शिक्षा ऐन संशोधनको माग गर्दै यही असोज ६ गते नेपाल कम्युनिस्ट पार्टी (नेकपा), जनता समाजवादी पाटी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी र माक्सवादी पार्टीले संयुक्त रूपमा तालाबन्दी गरेका हुन् ।

शिक्षा ऐनमा भएको वडाध्यक्ष नै विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुने प्रावधान खारेज गर्न माग गर्दै दलहरुले ताला लगाएका कारण कार्यालयको कामकाज रोकिएको नगरपालिकाका उपसचिव कुलप्रसाद खनालले जानकारी दिए ।

दलहरुले शिक्षा ऐन संशोधनसँगै छाडा चौपाया व्यवस्थापनको माग अघि सारेका छन् । नगरपालिकाले आफूहरूले उठाएका दुई माग पूरा नगरेसम्म ताला नखोल्ने दलहरुको अडान छ । दलहरुले अभिभावककै तर्फबाट विद्यालय व्यवस्थापनको अध्यक्ष चुनिन पाउने पहिलेकै प्रावधान कायम राख्न माग राखेका छन् ।

मागबारे गत फागुनमै नगरपालिकाको ध्यानाकर्षण गराए पनि सुनुवाइ नभएपछि ताला लगाइएको जनता समाजवादी दलका नगर अध्यक्ष तथा संयुक्त संघर्ष समितिका संयोजक अब्दुल मोविन खानले जानकारी दिए । नगरपालिकाले कार्यपालिकाबाटै शिक्षा ऐन संशोधन गरी अगाडि बढाउने निर्णय गरे पनि दलहरु सहमतिमा नआएको उपसचिव खनालले बताए ।

नगर प्रमुख मनमोहन चौधरीले दलहरुको मागप्रति नगरपालिका सकारात्मक रहेकाले सहमतिको प्रयास भइरहेको बताए । ‘राजनीतिक दलले उठाएका विषयमा कार्यपालिकाबाटै निर्णय गरी अगाडि बढिएको छ, ऐन संशोधनको विषय नगरसभाबाट पारित हुनुपर्छ तर दलहरुले ऐन तत्काल संशोधनको माग राख्नुभएको छ’, प्रमुख चौधरीले भने ।

प्रतिक्रिया