हुम्ला । नेपालसँग सीमा जोडिएको उत्तरी छिमेकी मुलुका चीन र नेपाल बीचको सिमानामा राखेको ११ नम्बरको सीमा स्तम्भ फेला परेको छ । नाम्खा गाउँपालिका–६ लाप्चाको लोलुङजोङ क्षेत्रमा चीनले निर्माण गरेका भवनको विषयमा स्थलगत अध्ययन गर्न गएको प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरी नेतृत्वको टोलीले सो सीमा स्तम्भ फेला पारेको हो । सीमा स्तम्भ नाम्खा गाउँपालिका–६ मानेपेमेको टुप्पोमा रहेको टाकुलेमा भेटिएको जिल्लाका सुरक्षा अधिकारीलाई उदृत गर्दै गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर लामाले बताए । उनका अनुसार ११ नम्बर सीमास्तम्भ सीमा प्रहरी चौकी, हिल्साभन्दा माथि करिब ५ हजार २ सय मिटर उचाइमा भेटिएको छ । चीन र नेपाल बीचको सिमानामा राखेको ११ नम्बरको सीमा स्तम्भ राखेको ५८ वर्षपछि फेला परेको अध्यक्ष लामाले बताए । यद्यपि प्रमुख जिल्ला अधिकारी जिल्ला नफर्किंदासम्म यस विषयमा केही भन्न नसकिने स्थानीय प्रशासनले जनाएको छ ।
विगत पाँच वर्षदेखि ११ नम्बर सीमास्तम्भ हराएकाले नेपाल–चीनबीच विवाद देखिएको ठहर गर्दै सरकारले त्यसको खोजीका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका सुरक्षाकर्मीलाई सिमानामा दुई टोली बनाएर खटाएको थियो । चार वटै सुरक्षा निकायका सुरक्षाकर्मी, नाम्खा गाउँपालिकाका प्रतिनिधि र केही स्थानीयहरूको अथक प्रयासमा तीन दिनको खोजविनले हराएको पिल्लर फेला परेको अध्यक्ष लामाले बताए ।
हराएको ११ नम्बर पिल्लर सीमा प्रहरीचौकी हिल्सादेखि सात घण्टाको पैदल दुरीमा फेला परेको खोजीमा संलग्न एक सुरक्षाकर्मीले बताए । खोज्दैजाँदा टाकुले लेकको खोँचमा हिउँसँगै दबेर रहेको अवस्थामा सीमास्तम्भ फेला परेको हो । लोलुङजोङमा चिनियाँ अधिकारीसँगको वार्ता सफल नभए पनि प्रमुख जिल्ला अधिकारी गिरी नेतृत्वको टोली सीमास्तम्म खोज्न सफल भएको हो ।
यसैबीच, नेपाली भूमिमा चिनियाँ पक्षले भवन बनाएको विषयलाई लिएर गृह मन्त्रालयले हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमालसँग चौबीस घण्टे स्पष्टीकरण मागेको छ । जनप्रतिनिधिहरूसँग लाप्चामा पुगेर केही साताअघि फर्किएका सहायक प्रजिअ हमालले जनप्रतिनिधिहरू र स्थानीय बासिन्दाको भनाइलाई आधार मानेर चीनले नेपाली भूमिमा भवन बनाएको हुन सक्ने आशयको प्रतिवेदन जिल्लामा पेस गरेका थिए ।
यही प्रतिवेदनका आधारमा मन्त्रालयले प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीको नेतृत्वमा सुरक्षा समितिको टोलीलाई यसबारेमा सत्यतत्थ्य बुझ्न र सीमा स्तम्भको बारेमा अनुगमन गर्न लाप्चा खटाएको थियो । प्रजिअको टोली स्थलगत भ्रमणबाट फर्किसकेको छैन । घटनास्थलको बास्तविकता बाहिर नआउँदै सरकारले सहायक प्रजिअ हमाललाई स्पष्टीकरण सोधेको छ । सरकारले चीनसँगको सीमामा कुनै विवाद नभएको स्पष्टीकरण बुधबार दिइसकेको छ ।
प्रतिक्रिया