आफूखसी सरकार चलाउन पाएनः भट्टराई

काठमाडौं, २ भदौ । कामचलाउ सरकारका प्रधानमन्त्री बाबुराम भट्टराईले सरकारको नेतृत्व गरे पनि आफूले एकलौटी रुपमा सत्ता चलाउन नपाएको गुनासो गरेका छन् ।
उनले भने, ‘मैले नेतृत्व गरेको सरकारले आफू खुसी सत्ता चलाउन नपाउँदा जनआकांक्षा अनुरुपको परिर्वतन गर्न सकिन ।’ सरकार आफू खुसी चलाउन कस्ले नदिएको भन्ने विषयमा भने भट्टराईले केही बताएनन् ।
गोरखा–काठमाडौं गणतान्त्रिक समन्वय समितिले आज राजधानीमा आयोजना गरेको कार्यक्रममा उनले आफू र आफ्नो पार्टीललाई चारैतिरबाट घेराबन्दीमा पारिएको दाबी गरे । उनले भने, ‘घेराबन्दीमा पारिए पनि हिम्मत नहारेर काम गर्छु ।’
कांग्रेस र एमालेलाई परिर्वतनको बाधक रहेको आरोप लगाएका उनले संविधान बनाउन अवरोध पुराएको बताए । भट्टराईले भने, ‘नयाँ संविधान बनाउन स्वदेशी र विदेशी षड्यन्त्रका कारण सकिएन ।’
कांग्रेस र एमाले सडकमा रुदैंमा सत्ता परिवर्तन नहुने उनले बताएका छन् । ‘मुलुकलाई निकास दिन एमाओवादीले सरकारको मोर्चाबाट संघर्ष गरिरहेको छ,’ उनले भने, ‘सत्ता यथास्थितिमा परिवर्तन हुँदैन ।’
एमाओवादीबाट केही नेताहरु र व्यक्तिहरु चोइटिएर गएको भट्टराईको भनाई थियो । उनले भने, ‘उनीहरु जाँदैमा पार्टीलाई कुनै असर गर्दैन ।’
उनले भने, ‘चौतर्फी ठक्कर खाएपछि उनीहरु फेरि पुरानै पार्टीमा फर्कने छन् ।’ पार्टी फूटले एमाओवादीलाई कुनै असर नगरेको भट्टराईले बताए ।

प्रतिक्रिया