उपत्यकाको अस्पतालका स्वास्थ्यकर्मीलाई निःशुल्क बससेवा सुरु

काठमाडौं । उपत्यकाको अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीका लागि निःशुल्क बससेवा सुरु गरिएको छ ।

नेपाल मेडिकल एशोसियशन, रोटरी क्बल अफ काठमाडौं हेल्थ प्रोफेसनल्स, नेपाल नेशनल अस्पताल कलङ्की, नेपाल स्काउट र उच्च शिक्षालय तथा माध्यामिक विद्यालय संघ नेपाल (हिसान) को सहकार्यमा अस्पतालमा कार्यरत कर्मचारी तथा चिकित्सकको सहजताका लागि आइतबारदेखि निःशुल्क बससेवा सुरु गरिएको हो ।

नेपाल नेशनल अस्पतालका मेडिकल निर्देशक डा. प्रकाश पौड्यालले ‘सवारी साधनका कारण स्वास्थ्य प्रवाहमा बाधक नपुगोस्’ भन्ने उद्देश्यले निःशुल्क बससेवा सुरु गरिएको जानकारी दिए । बस विहान ६ः३० बजेदेखि ८ः३० बजेसम्म र साँझ ५ः३० बजेदेखि ७ः३० बजेसम्म चल्नेछ ।

बाँसबारीबाट सुरु हुने वस त्रिभुवन शिक्षण अस्पताल (टिचिङ), कान्ति वाल अस्पताल, वीर अस्पताल, थापाथली अस्पताल हुँदै पाटन अस्पतालसम्म र अर्को बस पाटन अस्पतालदेखि सुरु भई थापाथली, आँखा अस्पताल त्रिपुरेश्वर, वीर अस्पताल, कान्ति वाल अस्पताल, टिचिङ अस्पताल हुँदै बाँसबारीसम्म र अर्को बस चक्रपथ परिक्रमा गर्नेछ ।

सुरुमा प्रत्येक दिन तीनवटा बसले सेवा दिएपनि स्वास्थ्यकर्मीको माग र आवश्यकतालाई हेरेर सेवा र समय बढाउँदै लैजाने एशोसियशनका कार्यकारी सदस्य डा. रितेश थापाले जानकारी दिए ।

बसबारे समस्या परे ११४७ हटलाइन नम्बरमा फोन गर्नसमेत आग्रह गरिएको छ । ‘सेवा नै धर्म हो’ भन्ने भावना बोकेको रोटरी क्लबसमेतले स्वास्थ्य क्षेत्रमा कार्यरत कर्मचारीको समस्या समाधानको लागि सहयोग गरेको रोटरी क्बल अफ काठमाडौं हेल्थ प्रोफेसनल्सका अध्यक्ष कविता रेग्मीले बताए । – रासस

प्रतिक्रिया