पाँचथर । जिल्ला पाँचथर र तेह्रथुमा गरी थप १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । तेह्रथुममा समुदायका आठ जनामा संक्रमण देखिएको छ भने पाँचथरमा तीन जना प्रहरी र भारतबाट फर्केका एक जना व्यक्तिमा संक्रमण पुष्टि भएको हो ।
तेह्रथुम जिल्लामा यसअघि भेटिएका ९ जना संक्रमितको सम्पर्कमा रहेका थप आठ जनामा संक्रमण देखिएको हो । स्वास्थ्य कार्यालय तेह्रथुमका प्रमुख योगराज घिमिरेका अनुसार उनिहरु म्याङलुङ बजारकै व्यवसायी तथा सर्वसाधारणहरु रहेका छन् ।
उनीहरुको स्वाव धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गएराती परीक्षण गरिएको थियो । गत साउन ३१ गते म्याङलुङका ३१ वर्षीय पुरुषमा संक्रमण देखिएपछि कन्ट्रयाक ट्रेसिङमार्फत ७४ जनाको स्वाव लिएर परीक्षण गरिएको थियो । त्यस क्रममा ९ जनामा संक्रमण देखिएको थियो ।
कन्ट्रयाक ट्रेसिङमार्फत नै संक्रमित ९ जनाका १ सय ३६ सम्भावित संक्रमितको स्वाब लिएर परीक्षण गरी थियो । उक्त परीक्षणमा आठ जनामा संक्रमण पुष्टि भएको घिमिरेले जानकारी दिए । योसँगै तेह्रथुममा सक्रिय संक्रमितको संख्या १८ पुगेको छ । उनीहरु सबैलाई म्याङलुङस्थित आइसोलेसनमा राखिएको छ ।
यता पाँचथरमा भने जिल्ला प्रहरी कार्यालयमा कार्यरत तीन जना प्रहरी तथा भारतबाट फर्केर फिदिमस्थित क्वारेन्टाइनमा बसेका एक व्यक्तिमा संक्रमण पुष्टि भएको छ । मंगलबार प्राप्त रिपोर्टमा उनीहरुमा कोभिड–१९ पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय पाँचथरका प्रमुख नारद सुवेदीले बताए ।
गत साउन २४ गते विराटनगरबाट सरुवा भई जिल्ला प्रहरी कार्यालयमा आएका एक प्रहरी जवानमा भदौ ४ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । भदौ ५ मा उक्त कार्यालयमा कार्यरत थप ४६ जना प्रहरीको स्वाब संकलन गरी पठाइएकोमा तीन जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालयका प्रमुख सुवेदीले वताए ।
संक्रमित प्रहरीमध्ये २६ वर्षका दुई तथा २३ वर्षका एक जना छन् भने भारतबाट आएका ५५ वर्षीय व्यक्ति रहेका छन् । भारतबाट आएका उनलाई फिदिमस्थित आइसोलेसनमा राखी उपचार थालिएको स्वास्थ्य कार्यालयका प्रमुख सुवेदीले बताए । जिल्ला प्रहरी कार्यालय पाँचथरका डिएसपी शिद्धराज न्यौपानेका अनुसार १५्र दिनअघि अन्यत्रबाट सरुवा भई आएका दुई जना तथा जिल्ला प्रहरी कार्यालयमै रहेका एक जना प्रहरीमा संक्रमण देखिएको हो ।
प्रतिक्रिया