नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचार गराइरहेका एक बिरामीमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालले अत्यावश्यकबाहेकका सेवा बन्द गरेको छ ।
अस्पतालमा यही भदौ २ गते उपचारका लागि आएका कावासोती नपा–१६ का ४० वर्षीय पुरुषमा भदौ ५ गते कोरोना संक्रमण देखिएपछि अस्पतालले सूचना जारी गर्दै अत्यावश्यकबाहेकका सेवा बन्द गरेको हो ।
अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. सुनिलराज गौतमका अनुसार ती पुरुषको भदौ ३ गते ‘न्याजोफ्यारिन्जियल’ स्वाब संकलन गरी पठाइएकोमा संक्रमण पुष्टि भएपछि अस्पतालको आइसोलेसन कक्षमा उपचारका लागि राखिएको छ ।
‘संक्रमित बिरामीको सम्पर्कमा आएका चिकित्सक, स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीको केभिड–१९ परीक्षण गर्नुपर्ने र अस्पतालसमेत निर्मलीकरण गर्नुपर्ने भएकाले अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा बन्द गरिएको हो’, उनले भने । बिरामीको सम्पर्कमा आएका कर्मचारीको यही भदौ ८ गते स्वाब संकलन गरी परीक्षण गरिने उल्लेख गर्दै डा. गौतमले सोको रिपोर्ट प्राप्त नहुँदासम्मको लागि हाल अस्पतालबाट प्रदान गरिँदै आएका अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा बन्द रहने जानकारी गराए ।
जिल्लामा हालसम्म ३८४ जनामा कोरोना संक्रमण पुष्टि भएकामा ३३० जना उपचारपछि निको भएर घर गइसकेका स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईँले जानकारी दिए । उनका अनुसार हाल जिल्लाका विभिन्न क्वारेन्टाइनमा ९६ तथा आइसोलेसनमा ५४ जना रहेका छन् ।
प्रतिक्रिया