डा.केसी मुगु पुगेर बिरामीको स्वास्थ्य जाँच गर्दै

मुगु । जिल्ला–जिल्लामा पुगेर बिरामीको स्वास्थ्य जाँचमा सेवा दिँदै आएका डा. गोविन्द केसी डोल्पा, जुम्ला हुँदै बुधबार हिमाली जिल्ला मुगुमा पनि पुगेका छन् । उनले मुगु पुगे लगत्तै जिल्ला अस्पताल ठिनीमा बिहीबारदेखि बिरामीको निःशुल्क स्वास्थ्य जाँच गरिरहेका छन् ।

उनी जुम्लाको खलंगा बजारबाट हिँडेरै मुगु आइपुगेका हुन् । केसीले विशेष गरी हाडजोर्नीसम्बन्धी समस्या भएका बिरामीलाई लक्षित गरी सेवा दिएका छन् । डा. केसीसँग स्वास्थ्य जाँच गर्न विभिन्न स्थानबाट मानिसहरू पुगेका छन् ।

डा. केसी मुगु आउने खबर पाएपछि हाडजोर्नीसम्बन्धी भएकालाई लक्षित गरी सार्वजनिक सूचना जारी गरिएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख निर्मल नगरकोटीले बताए ।

उनका अनुसार केसीले बिहीबार ४७ जना बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरेका छन् । केसीले मुगु अस्पतालमै बसेर करिब तीन दिन सेवा दिनेछन् ।

यसअघि उनले हुम्लाको अदानचुली गाउँपालिका पुगेर करिब डेढ सय स्थानीयको स्वास्थ्य परीक्षण गरेका थिए । अदानचुलीबाट फेरि बाजुरा, कालिकोट, जुम्ला पुगेर सेवा दिएका थिए । जुम्लाबाट दुई दिन हिँडेर डोल्पाको जगदुल्ला गाउँपालिका पुगेका उनी त्यहाँ शिविर गर्न नपाएपछि चार दिन हिँडेर मुगु आइपुगेका हुन् ।

प्रतिक्रिया