हुम्ला । विहानको ५ बजेको छ, सबै घरमा बालबालिका, अभिभावक निद्राबाट उठिसकेका छन् । दैनिक नित्य कर्म गर्नमा सबै व्यस्त देखिन्छन् । चार महिना विहान अबेर उठ्ने बानी भएका बालबालिकालाई अभिभावकले जगाउँदैछन् । विहानको खानेकुरा तयार भईरहेको छ ।
बालबालिका झोलामा किताब कापी हालिरहेका छन् । सुनसान हुने विगतका विहान भन्दा बेग्लै खैलाबैला सहित जागेको छ अहिलेको बिहानी । बाटोमा दिनभरी जसो विद्यार्थीको ओहोर दोहोर सुरु भएको छ । विद्यार्थीको चहलपहलले गर्दा हुम्ला साँच्चिकै सामान्य अवस्थामा फर्केको भान भएको छ । साउन २२ बाट हुम्लाका सबै स्थानीय तहले विद्यालय सञ्चालन गर्ने निर्णयसँगै चहलपहल बढेको हो ।
कोभिड–१९ को कारण देशभरका शिक्षण संस्था बन्द भएपनि सबै स्थानीय तहमा पठनपाठन सुरु गराउने पहिलो जिल्ला हुम्ला भएको छ । देशका अन्य जिल्लामा भिँडभाड, सामाजिक परम्परा, नाच घर, विद्यालय लगायत भिँडभाड हुने स्थान नखुलाउने निर्णय सरकारले गरेको भएता पनि हुम्लाका सातै पालिकाको निर्णयअनुसार सम्पूर्ण विद्यालयमा पठनपाठन सुरु भएको छ ।
स्थानिय तहको स्वास्थ्य शाखाले क्वारेन्टाईन स्थल बनाईका विद्यालयलाई स्यानिटाईज गरे पश्चात खुल्न थालेका छन् । फागुन महिनामा शैक्षिक शत्र शुरुभएको हुम्लाका विद्यालयले विद्यार्थीलाई भर्ना गरेपनि लकडाउनका कारण सबै बन्द भएका थिए । सरकारले पछिल्लो पटक कोभिडको महामारीका विषयमा निर्णय गर्ने अधिकार स्थानीय तहलाई सुम्पेको कारण हुम्लामा विद्यालय खोल्ने निर्णय गरेको हो ।
सात स्थानिय तह रहेको जिल्लामा दुई जनामात्र संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले देखाएको छ । यस अघि हुम्लाको नाम्खा गाउँपालिकाको वडा नं. ६ को ३ वटै सामुदायिक विद्यालयमा नियमित पठनपाठन भईरहेको छ । उच्च हिमाली भेगमा पर्ने लिमी गाउँमा असोज महिना देखी हिमपात हुने गरेको कारण पठनपाठनलाई नियमित बनाईएको हो ।
हरेक वर्ष जेठ महिनाबाट खुल्न थाल्ने लिमीका विद्यालयमा भने सरकारी शिक्षकको दरवन्दी भएको भएता पनि घरमा बसेर शिक्षकले तलव थाप्ने गरेका छन् । स्थानीयले भने निजी स्रोतमा शिक्षक नियुक्त गरी पठन पाठन गर्नुपर्ने अवस्था रहेको छ । लिमीमा सरुवा भई जाने अधिकाश शिक्षक राजनीतिक संरक्षणको आधारमा सदरमुकाम लगायतका ठाउँमा बस्ने गरेका छन् ।
विद्यालय खुल्ने निर्णयपछि हुम्लाका धेरै विद्यार्थीको चाप हुने विद्यालयले दुई चरणमा कक्षा सञ्चालन गरेका छन् । सामाजिक दुरी कायम राख्ने उद्धेश्यले विहानको कक्षामा १० देखी २५ को संख्यामा विद्यार्थीलाई अध्ययन गर्ने मौका दिईएको मानसरोवर नमूना माध्यमिक विद्यालयका अमर बहादुर शाहीले जानकारी दिए । विहानको कक्षा साढे ६ देखी साढे १० सम्म सञ्चालन गरिएको छ भने दिउसोको कक्षा साढे १२ देखी बेलुका साढे ४ सम्म सञ्चालन भईरहेका छन् ।
सरकारी विद्यालयमा अधिकाश विद्यार्थीको चाप हुने सदरमुकाम स्थित सबै सामुदायिक विद्यालयमा दुई चरणमा पठन पाठनको व्यवस्था गरिएको छ । जिल्लाका अन्य स्थानीय तहमा त्यती साह्रो विद्यार्थीको चाप नहुँदा एक चरणमा नै विद्यालय सञ्चालनमा आएका छन् । निजी स्तरमा सञ्चालनमा आएको सदरमुकाम सिमकोटमा रहेका हिमाली मोडल, कैलाशबोधी विद्यालयले पनि दुई चरणमा कक्षा सञ्चालन गरेको कैलाशबोधी बोर्डिंग स्कुलका प्रिन्सिपल छवांग लामाले बताए । विद्यालयमा रहँदा विद्यार्थी, शिक्षक र अभिभावकले अनिवार्य सामाजिक दुरी कायम गर्नुपर्ने, विद्यालय परिसरमा रहँदा अनिवार्य मास्क, स्यानिटाईजर लगायतको सुरक्षा सामाग्रीको प्रयोग गर्नुपर्ने नियम रहेको मानसरोवर नमूना माध्यमिक विद्यालयका प्रधानाध्यापक अमर बहादुर शाहीले बताए ।
दुई चरणमा विद्यालयको कक्षा विभाजन गर्दा एकै शिक्षकले एउटै कक्षामा कम्तीमा दुई पटक उही विषय अध्यापन गराउनु पर्ने अवस्था रहेको छ । करिब ११ घण्टा शिक्षकले विद्यालयमा अध्यापन गराउनु पर्ने अवस्था सिर्जना भएको छ । अधिकाश विद्यालयमा पुरा दरवन्दी नहुँदा विभिन्न विषय अध्यापन गराउनु पर्ने शिक्षकको बाध्यता रहेको छ । त्यसै गरी जिल्लामा रहेका निजी स्तरका विद्यालयमा पनि पठन पाठन सुरु भएको छ ।
केही दिन अघि देखी विद्यार्थी भर्ना सुरु गरेका निजीस्तरका विद्यालयमा पठन पाठन हुँदा हुम्ला विद्यालय सञ्चालन गर्ने पहिलो जिल्ला बनेको छ । निजी विद्यालयमा शिक्षण गर्ने शिक्षकले ४ महिनाको तलव समेत पाएका छैनन् । विद्यालयमा अध्ययन गर्ने बालबालिकालाई यो समय अवधीभरमा शुल्क नलिईएको कारण तलव खुवाउनको लागि समस्या भएको थियो ।
विद्यालयमा बालबालिका पठाउन पाउँदा अभिभावक भने खुसी र चिन्ता दुवैमा परेका छन् । शिक्षाको उज्यालो घामबाट वञ्चित बालबालिका विद्यालयको ढोकामा उपस्थित ४ महिना नहुँदाको पिडा त पुरा भयो तर रोगको महामारीको कारण अझै त्रास रहेको अभिभावक नन्द रावतले बताए । देशभर कहिँ कतै विद्यालय खुलेका छैनन् तर हुम्लामा खुल्नु राम्रो पक्ष त हो तर लकडाउन पछि अझै पनि जिल्लामा जिल्ला बाहिरबाट आएका वासिन्दा प्रशस्त भएको कारण संक्रमणको त्रास अझै रहेको छ ।
प्रतिक्रिया