क्‍वारेन्टाइन कोरोना केन्द्र बन्‍ने चिन्ता

कैलाली । सुदूरपश्चिम प्रदेशका स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थीले कोरोनाको संक्रमणका कारण भारतबाट नेपाल आउनेहरूको व्यवस्थापनका लागि स्थानीय तहले निर्माण गरेका मापदण्ड विपरीतका क्‍वारेन्टाइनबाटै संक्रमण फैलने चिन्ता बढ्न थालेको बताएका छन् ।

डा. अवस्थीले पछिल्लो समय कोरोनाको तीव्र संक्रमणका कारण भारतबाट स्वदेश फर्कने नागरिक बढेपछि क्‍वारेन्टाइन सञ्चालन तथा व्यवस्थापन २०७६ सम्बन्धी मापदण्ड पूरा नगरी अधिकांश स्थानीय तहले सामुदायिक विद्यालय भवनलाई क्‍वारेन्टाइनका रूपमा विकास गरी आफ्ना नागरिकको व्यवस्थापनमा जुटे पनि मापदण्डानुसारको नहुँदा जोखिम बढेको स्पष्ट गरे ।

स्वास्थ्य परीक्षणका सामग्री अभावले भारतबाट आएकाको परीक्षण नगरी भित्र्याउँदा जोखिम बढेको उनको भनाइ छ । डा. अवस्थीले हालसम्म सुदूरपश्चिम प्रदेशमा कोरोना देखिएका ९० प्रतिशतभन्दा बढी व्यक्ति भारतबाट आएकाहरु नै भएकाले पनि सुदूरपश्चिम प्रदेशमा जोखिम अझै बढ्ने निश्चित भएको ठोकुवा गरे ।

क्‍वारेन्टाइन सञ्चालन तथा व्यवस्थापन २०७६ मा सम्भव भए शौचालयसहित छुट्टै कोठा र नभए प्रतिकोठा अधिकतम तीन जनाको दरले राख्नुपर्ने, ६ जनाका लागि एउटा साझा शौचालय र स्नानगृह हुनुपर्ने, विद्युत्, पानीलगायत आधारभूत सेवा हुनुपर्ने भने पनि भारत मजदूरीका लागि जाने नेपालीको बढ्दो आगमनले त्यस्तो सम्भव नभएको उनले स्वीकारे ।

मापदण्डमा प्रतिव्यक्ति ७५ वर्ग फिटको स्थान वा एकदेखि अर्को ओछ्यानबीच न्यूनतम दूरी ३ दशमलव ५ फिट हुनुपर्ने, ओढ्ने, ओछ्याउने र आवश्यकतानुसार झुल र डस्टबिन उपलब्ध गराउनुपर्ने उल्लेख छ ।

गर्भवती, १० वर्षसम्मका बालबालिका, ज्येष्ठ नागरिक र अपाङ्गताका लागि प्राथमिकता दिई अलग्गै क्वारेन्टिन व्यवस्था गर्ने, स्वस्थ्य खाना र शुद्ध पिउने पानीको व्यवस्था गर्ने, बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती तथा दीर्घरोगीलाई आवश्यकतानुसार खानाको व्यवस्था गर्नुपर्ने कुरा स्पष्ट रूपमा मापदण्डमा भनिए पनि त्यसो गर्न सम्भव नभएकाले क्‍वारेन्टाइन जोखिमको घरका रूपमा रहेको उनको भनाइ छ ।

निर्देशक डा. अवस्थीले जोखिमपूर्ण क्‍वारेन्टाइनको विकल्पका रूपमा होम क्‍वारेन्टाइनलाई प्रोत्साहन गर्नुपर्ने बताए । उनले ठूलो संख्यामा नेपाली फर्कँदा व्यवस्थापनमा धेरै समस्या भइरहेको बताउदै अमेरिका, बेलायत जस्ता विकसित देशले गरेको होम क्‍वारेन्टाइनको अभ्यासलाई अनुसरण गर्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया