लकडाउनको अठारौँ दिनमा स्वास्थ्य सामाग्री

हुम्ला । यतिखेर जिल्ला सदरमुकाम सुनसान छ । चहलपहलको नाममा विमानस्थलमा सरकारले लकडाउनको बेला खाद्यान्न आपूर्तीमा कमी नहोस् भन्नको लागि हवाईजहाजमार्फत खाद्यान्नको ढुवानी गरेको छ । ग्रामिण भेगका किसान भने खेती किसानमा लागिरहेका छन् । साथै, स्थानिय तहले भने कोरोना संक्रमणमा नियन्त्रण गर्न सतर्कता अपनाएका छन् । यहाँ सबैजसो स्थानिय तहमा औषधी र डाक्टरको अभाव छ ।

अहेब र अनमीको भरमा स्थानिय स्वास्थ्य संस्था सञ्चालनमा छन् भने सामान्य औषधी मात्र छ । यतिबेलासम्म कोरोना भाईरस हुम्लामा भित्रिएको कुनै जानकारी छैन । स्थानिय निकायले थोरै मात्रामा क्वारेन्टाईनको निर्माण गरेका छन् । जिल्लाभन्दा बाहिरबाट आएका स्थानिय क्वारेनटाईनमा बस्न मानेका छैनन् । जिल्लामा भित्रिएको तथ्यांक एक हजारको हाराहारीमा भएता पनि क्वारेनटाईनमा बसेका व्यक्ति ५० जना पनि छैनन् । उनीहरूले पनि ७ दिनपछि घर फर्कन पाउनु पर्छ भन्दै माग गरेका छन् ।

जिल्लामा कती व्यक्ति भित्रिए भन्नेबारेमा स्थानिय प्रशासनले केही दिन अगाडि तथ्यांक निकाले पनि उनीनीहरूलाई कसरी अन्य व्यक्तिबाट सुरक्षित राख्ने भन्नेबारे जानकार छैन । देशमा लकडाउनको १८औँ दिनसम्म कुनै स्थानिय निकाय भने भरखर औषधी र स्वास्थ्य सामाग्रीको जोहो गर्नमा व्यस्त रहेका छन् । कोरोना भाईरसविरुद्ध सतर्कता अपनाउन नेपाल सरकारले आह्वान गरेर लकडाउनको १८औँ दिनमा बल्ल हुम्लाका स्थानिय तहले स्वास्थ्य सामाग्री जिल्लामा भित्र्याएका हुन् ।

कर्णाली प्रदेश सरकारले जिल्ला अस्पतालको लागि यसअघि नै सामाग्रीको व्यवस्था गरेको भएता पनि जिल्लाका सबै स्थानिय तहको लागि सामाग्री अपुग भएको भन्दै स्थानिय तहले आफै सामाग्री किनेर जिल्लामा भित्र्याएको बताएका छन् । सिमकोट र नाम्खा गाउँपालिकाले स्वास्थ्यकर्मीलाई उपचारको लागि सहज होस् भनेर पिपिई. सेट, बुट, स्यानिटाईजर, मास्क लगायतका स्वास्थ्य समाग्री खरिद गरेका हुन् ।  शुक्रबार मात्र सिमकोट पुगेको स्वास्थ्य सामाग्रीमा पिपिई सेट ३०, एन् ९५ मास्क १ सय, सर्जिकल मास्क २ हजार ५ सय, स्यानिटाईजर ५ सय बोतल, स्प्रे सिमकोट गाउँपालिकाले भित्र्याएको छ ।

त्यसैगरी, नाम्खा गाउँपालिकाले एन् ९५ मास्क १०० थान, सर्जिकल मास्क ३ हजार, पिपिई. सेट १५ वटा खरिद गरेको छ । सुरक्षा सतर्कता अपनाउनको लागि यस्ता सामाग्रीले स्वास्थ्यकर्मी र कोभिड संक्रमण भएका विरामीलाई सहज हुने सिमकोट गाउँपालिका स्वास्थ्य प्रमुख दानबहादुर बोहराले बताए । यसअघि विरामीलाई दिईने प्रतिरक्षात्मक सामान्य खालको औषधी खरिद गरी गाउँपालिकामा पुर्याईसकिएको र सम्पूर्ण स्वास्थ्य संस्थामा कार्यरत कर्मचारी र स्वास्थ्य संस्थालाई यो सामाग्री वितरण गरिने स्वास्थ्य प्रमुख बोहोराको भनाई छ ।

उता जिल्लाको मध्ये भागमा रहेको सर्केगाड गाउँपालिकाले कोरोना प्रभावितलाई लक्षित गरेर रु एक करोड १ लाख रकम बराबरको विपद् व्यवस्थापनको लागि रकम विनियोजन गरेको छ । पाँच ठाउँमा हेल्थ डेस्क खडा गरी पालिकाभन्दा बाहिरबाट आउने वासिन्दालाई सेवा दिईरहेको छ । गाउँपालिकाका अध्यक्ष कृष्ण रोकायाको संयोजकत्वमा ११ सदस्यि विपद् व्यवस्थापन समिति समेत गठन गरेको छ । ५० श्ययाको क्वारेनटाईन बेडको निर्माण गरेको भएता पनि क्वारेनटाईन पुरै खाली भएको अवस्था छ ।

स्थानियसँग जनचेतनाको वृद्धी नभएको कारण स्वास्थ्य अवस्था विग्रन सक्नेप्रति गाउँपालिका सजग रहेको गाउँपालिका अध्यक्ष कृष्ण रोकायाले बताए । साधनस्रोत जिल्ला बाहिरबाट निर्यात गर्नुपर्ने भएका कारण स्वास्थ्य सामाग्री भित्र्याउन गाह्रो भएको निमित्त कार्यकारी अधिकृत रुद्रबहादुर शाहीले जानकारी गराए । जिल्लाको सदरमुकामसमेत रहेको सिमकोट गाउँपालिकाले भने पालिकाको सीमाना भर हेल्थ डेस्क खडा गरेको छ ।

कोरोना संक्रमण भएको व्यक्तिलाई उपचार गर्दा स्वास्थ्यकर्मी प्रभावित भई मृत्यु हुन गएमा प्रति स्वास्थ्यकर्मी १० लाखको दरले वीमासमेत गरेको छ । स्वास्थ्यकर्मीलाई खर्च वापत प्रति व्यक्ति रु ५ सय रकमसमेत छुट्याएको छ । पालिकाभर आवश्यक पर्ने औषधी कमी नहोस् भन्नको लागि  पहल भईरहेको स्वास्थ्य शाखाका प्रमुख बोहोराले बताए ।

हाल कोरोना संक्रमण भएमा आवश्यक पर्ने सामाग्री आयात गरीसकेको र केही सामाग्री सुर्खेतमा रहेको भएता पनि केही दिनमा पालिकामा आईसक्ने बोहोराले बताए । उत्तरी पालिका नाम्खामा भने स्वास्थ्य शाखाले १० वटा क्वारेनटाईन, हेल्थ डेस्क र आईसोलनमा २७ जना स्वास्थ्यकर्मी रहने गरी व्यवस्था गरेको छ । जिल्लामा स्वास्थ्य सामाग्री खरिद गरी भित्र्याउनको लागि गृह मन्त्रालय, पर्यटन मन्त्रालय, स्थानिय प्रशासन, नागरिक उड्डयन कार्यालय, विमान कम्पनीसँगको असहज अनुमतिको कारण स्वास्थ्य सामाग्री आयातमा समस्या भईरहेको छ ।

प्रतिक्रिया