झापा । इलाका प्रहरी कार्यालय काँकडभिट्टाले नक्कली चिकित्सकको भेषधारण गरेर काठमाडौंबाट झापा आएका दुई युवालाई आज बिहान पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३३ वर्षीय दिलकुमार श्रेष्ठ र २८ वर्षीय गणेश अधिकारी रहेका छन् ।
लकडाउनमा पनि ती युवा बा ६ च ७०१९ नम्बरको कारमा धरान हुँदै आइतबार बिहान काँकडभिट्टा आइपुगेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाका अनुसार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्न आएको बताएका उनीहरूमध्ये एक जनाले डा. विनोद श्रेष्ठ नामको नक्कली परिचयपत्र बोकेका थिए ।
काठमाडौंदेखि चिकित्सकको बहाना गरी सुरक्षा जाँच छल्दै काँकडभिट्टा आइपुगेका उनीहरूलाई प्रहरीले मेडिकल काउन्सिलको दर्ता नम्बरसमेत माग्दै सोधपुछ गरेपछि नक्कली चिकित्सक भन्ने पोल खुलेको थियो ।
दुबै जनालाई प्रहरीले आवश्यक अनुसन्धान अघि बढाउँदै तत्कालका लागि मेचीनगरको क्वारेन्टाइनमा पठाउने भएको छ भने सवारीसाधन प्रहरी कार्यालयमै राखिएको छ । प्रहरी उपरीक्षक कोइरालाले नियन्त्रणमा लिइएका दुबै व्यक्ति लागू औषधको खोजीका लागि छट्पटाउँदै आइपुगेको आशंका गरिएको बताए ।
प्रतिक्रिया