सिरहा । नोबेल कोराना भाइरसको सम्भावित जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रहरीले कार्यालय सिरहाले सेवाग्राहीका हकमा सेनिटाइजरको प्रयोग तथा डिटोल पानीले हात धुने व्यवस्था अनिवार्य गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पुग्ने जो कोहीले डिटोल पानीले हात सफा गरेपछि मात्र कार्यालय प्रवेश गर्न पाउनेछन् । कार्यालयको गेटमा खटिएका प्रहरीले सेवाग्राहीका अलावा अन्य आगन्तुकहरूलाई सेनिटाइजर तथा डिटोल पानीले हात सफा गर्न आग्रह गर्छन् । त्यसपछि मात्र कार्यालय प्रवेशका लागि इजाजत दिने गर्छन् ।
व्यक्तिगत सरसफाई र कोरोनाको जोखिमलाई मध्यनजर गरी कार्यालय प्रवेश अघि सेनिटाइजरले हात सफा गर्ने व्यवस्था मिलाएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी उमाप्रसाद चतुर्वेदीले बताए । चतुर्वेदीले जिल्लाभरीमा कोरोनासम्बन्धी सचेतना र आवश्यक अन्य तयारी सहितका कामसमेत थालिएको बताए ।
उनले बजार तथा सर्वसाधारणको बढी आउजाउ हुने स्थानमा सेनिटाइजरले हात सफा गर्ने तथा डिटोल पानीले र साबुन पानीले हात धुने व्यवस्था मिलाउन लागिएको समेत बताए । जिल्ला प्रहरी कार्यालय सिरहाले आवश्यकता अनुसार हेल्प डेस्क समेतको प्रवन्ध मिलाउने जनाएको छ । एसपी चतुर्वेदीले कोरोना भाइरसबाट बच्न व्यक्तिगत सरसफाइमा ध्यान दिनुका सचेत र सजक रहन जिल्लावासीमा आग्रहसमेत गरेको छ ।
प्रतिक्रिया